काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल ३ महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौता अनुसारको भाडा रकम ३८ हजार ७२१ रुपैयाँ समाज कल्याण परिषदलाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए ।
धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले भने क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको पनि स्पष्ट पारे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पूर्ण साथ रहेको धमलाको भनाइ छ ।
‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ ।
उनले रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकको आवाज सम्बन्धित निकाय र जनतामाझ पुर्याउने काम गर्दै आएको बताए ।
जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत रिपोर्टर्स क्लबले आफ्ना माग, धारणा र आवाज जनतामाझ पुर्याउन महत्वपूर्ण सहयोग गरेको धमलाले स्मरण गरे ।
कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा समेत सरकारले भाडा तिर्न नपर्ने भनिए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए । ‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो । सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो, तर हामीले भाडा तिर्यौं,’ उनले भने ।
उनले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्दै क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी र जनताको आवाज अभिव्यक्त गर्ने एउटा महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको बताए ।