सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंमा देखियो चेरी क्यू

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु हुनुअघि नै काठमाडौंका सडकमा चेरीका नयाँ विद्युतीय गाडी देखिन थालेका छन् । 

आगामी अगस्ट ११ देखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमामा चेरी क्यू लगायतका गाडी सार्वजनिक प्रदर्शनमा राखिने तयारी भइरहेका बेला चेरी क्यू काठमाडौंमा देखिएको हो ।

नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले चेरी क्यूको आधिकारिक सार्वजनिक प्रस्तुति नाइमामार्फत हुने जनाएको छ । 

नाइमामा आगन्तुकले पहिलोपटक चेरी क्यूलाई नजिकबाट अवलोकन गर्न पाउनेछन् ।

चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीमध्ये एक चेरी क्यूलाई आधुनिक सहरी जीवनशैली लक्षित अर्बन क्रसओभरका रूपमा प्रस्तुत गरिएको छ । 

यसको नयाँ डिजाइन र प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा बटुल्दै आएको कम्पनीले जनाएको छ ।

चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा ब्याट्री रहेको छ भने एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने दाबी गरिएको छ । 

गाडीमा ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स र ७० लिटर फ्रंक स्पेस उपलब्ध छन् ।

त्यस्तै, यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र २० भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम लगायतका सुविधा छन् । यी सुविधाले सहरी यात्रालाई थप सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०३५ तथा आईएफ डिजाइन अवार्डसमेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । 

काठमाडौंमा आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै देखिएपछि यो गाडी सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ ।

Share News