नागरिकलाई आफ्नै भाषामा सूचना दिनु लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री गौतम

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण र नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो बताएकी हुन् ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा मन्त्री गौतमले नेपालको इतिहास, सभ्यता र संस्कृति जगेर्ना गर्न आदिवासी समुदायले खेलेको भूमिकाको प्रशंसा गरिन् । मन्त्री गौतमले राज्यका कामकारबाही र सूचनाहरू हरेक नागरिकले आफ्नै मातृभाषामा बुझ्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरिन् ।

राज्य र नागरिकबीच रहेको सूचनाको दूरी मेटाउन पत्रकारहरूको ठूलो जिम्मेवारी रहेकोमा उनले जोड दिइन् । मिथिलादेखि राउटे समुदायसम्मका हरेक नागरिकले राज्यका गतिविधिबारे थाहा पाउनुपर्ने बताइन् ।

मन्त्री गौतमले मातृभाषाका पत्रकारहरूले भोग्नुपरेका समस्या र चुनौतीप्रति राज्य सकारात्मक रहेको बताइन् । उनले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि गर्नुपर्ने कामहरूको ठोस प्रस्ताव (बुँदागत सुझाव) पेश गर्न पत्रकारहरूलाई आग्रह गरिन् ।

मन्त्री गौतमले भनिन्, ‘नेपालको पहिचान र इतिहास केवल सरकारी दस्तावेजमा मात्र सीमित छैन, यो हाम्रो संस्कार, संस्कृति, रहनसहन र भाषाहरूमा जीवित छ । नेपालको बहुजातीय र बहुभाषिक विविधतालाई जोगाउनु सबै नेपालीको साझा दायित्व हो ।’

उनले भाषाहरूको संरक्षण र पत्रकारहरूको वृत्तिविकासका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन् । अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विभिन्न देशका अभ्यास र अनुभव आदानप्रदान हुने र यसले राज्यलाई स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा मन्त्री गौतमले व्यक्त गरिन् ।

विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका नेता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनले मातृभाषा पत्रकारितालाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरिन् ।

Share News