काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै कर्जा विस्तार हुन नसकेको भन्दै सांसद आशिष गजुरेलले कर्जा प्रवाह बढाउन तीनवटा विषयमा तत्काल सुधार गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गजुरेलले बैंकमा पैसा भए पनि व्यवसायी तथा लगानीकर्ताले कर्जा लिन नचाहनु अर्थतन्त्रको गम्भीर समस्या भएको बताए । उनका अनुसार अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभावभन्दा पनि निजी क्षेत्रको लगानी गर्ने आत्मविश्वास कमजोर हुनु मुख्य चुनौती बनेको छ ।
‘बैंकमा पैसा छ तर व्यवसायीले कर्जा लिन चाहिरहेका छैनन्,’ उनले भने, ‘व्यवसायीको कर्जा लिने आत्मविश्वास घटेको छ। यसलाई बुस्ट गर्न सरकारले सोच्नुपर्छ ।’
सरकारले मात्रै आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको लगानी र कर्जा विस्तार नबढेसम्म उच्च आर्थिक वृद्धि हासिल गर्न कठिन हुने उनको भनाइ छ ।
गजुरेलले बैंकबाट कर्जा प्रवाह बढाउन सरकारले मुख्यतः नीतिगत सुधार तथा स्थिरता, लगानीकर्ताको सुरक्षा र कर्जालाई उत्पादनसँग जोड्ने तीन क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिए ।
उनका अनुसार सरकारले नीतिगत सुधार र स्थिरतामा ध्यान दिनुपर्छ । उनले लगानीकर्ताले दीर्घकालीन निर्णय गर्न सक्ने वातावरण निर्माण गर्न नीतिगत स्थिरता आवश्यक रहेको बताए । पटक–पटक हुने नीतिगत परिवर्तनले निजी क्षेत्रलाई लगानीसम्बन्धी निर्णय लिन असहज बनाउने भन्दै उनले सरकारले स्पष्ट, पूर्वानुमानयोग्य र स्थिर नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार दोस्रो लगानीकर्ताको सुरक्षामा ध्यान दिनुपर्छ । गजुरेलले निजी क्षेत्रलाई लगानीका लागि सुरक्षित वातावरणको अनुभूति गराउनुपर्ने बताए । लगानीकर्ताले आफ्नो लगानी, व्यवसाय र सम्पत्तिको सुरक्षा हुने विश्वास नगरेसम्म बैंकबाट कर्जा लिएर जोखिम लिन तयार नहुने उनको तर्क छ ।
‘सरकारले निजी क्षेत्रलाई कन्फिडेन्समा लिनुपर्छ,’ उनले भने ।
उनका अनुसार सरकारले निजी क्षेत्रलाई केवल कर तिर्ने वा रोजगारी सिर्जना गर्ने क्षेत्रका रूपमा हेर्नुभन्दा आर्थिक विकासको साझेदारका रूपमा व्यवहार गर्नुपर्छ। लगानीकर्तासँग नियमित संवाद, समस्याको समाधान र नीतिगत स्पष्टताले निजी क्षेत्रको मनोबल बढाउन सक्ने उनले बताए ।
उनले बैंककाे कर्जा बढाउन उत्पादनमा जोड जाेड दिनुपर्छ । गजुरेलले बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जालाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिए । कर्जा बढाउनु मात्र अर्थतन्त्रका लागि पर्याप्त नहुने भन्दै उनले कर्जा उत्पादन, रोजगारी र आय सिर्जना गर्ने क्षेत्रमा जानुपर्ने बताए ।
उत्पादनशील क्षेत्रमा कर्जा विस्तार हुँदा त्यसले व्यवसायको विस्तार, रोजगारी सिर्जना, आय वृद्धि र समग्र माग बढाउन सहयोग गर्ने उनको भनाइ छ ।