नयाँ प्रविधिसहित आयो बीवाईडी एट्टो सिरिज, मूल्य ३० लाख ७५ हजारदेखि

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ‘न्यु जेनेरेसन एट्टो सिरिज’ सार्वजनिक गरेको छ । कम्पनीले एट्टो १, नयाँ एट्टो २ र २०२६ एट्टो ३ सार्वजनिक गरेको हो ।

नयाँ पुस्ताका यी विद्युतीय गाडीमा प्रविधि, डिजाइन, आराम, सुरक्षा तथा सुविधामा सुधार गरिएको कम्पनीले जनाएको छ । नयाँ एट्टो सिरिजमार्फत विभिन्न मूल्य र सेग्मेन्टका ग्राहकलाई लक्षित गरिएको छ । 

एट्टो १ मा थप सुविधा

नयाँ एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा ३६० डिग्री क्यामेरा थप गरिएको छ । यसले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा चालकलाई वरपरको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ ।

एट्टो १ प्रिमियममा अटो–फोल्ड ओआरभीएमसमेत थप गरिएको छ ।

एट्टो १ डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । 

एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट

बीवाईडीले एट्टो २ मा नयाँ एसेन्सियल भेरियन्ट थप गरेको छ। यसमा ४५.१२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ३१२ किलोमिटरसम्म रेन्ज दिनेछ ।

एट्टो २ प्रिमियममा ५१.१३ किलोवाट आवरको ब्याट्री छ । यसको डब्लूएलटीपी रेन्ज ३४५ किलोमिटर रहेको कम्पनीले जनाएको छ ।

एट्टो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

नयाँ एट्टो ३ मा डिजाइनदेखि प्रविधिसम्म सुधार

सन् २०२२ मा नेपालमा सार्वजनिक भएदेखि लोकप्रिय बनेको एट्टो ३ लाई बीवाईडीले नयाँ पुस्तामा थप परिष्कृत गरेको छ ।

नयाँ एट्टो ३ मा ‘डाइनामिक ड्रागन फेस डिजाइन’ अपनाइएको छ । पछाडिको भागमा रियर स्पोइलर, हाई–माउन्टेड ब्रेक लाइट तथा नयाँ टेललाइट डिजाइन राखिएको छ ।

गाडीको भित्री भागमा पनि सुधार गरिएको छ । सफ्ट–टच सरफेस बढाइएको छ भने प्रयोग भएका सामग्रीको गुणस्तर र आराममा सुधार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ एट्टो ३ मा कोलम–सिफ्टर गियर सेलेक्टर राखिएको छ । यसले गियर परिवर्तनलाई सहज बनाउने कम्पनीको भनाइ छ ।

त्यस्तै, ५० वाटको वायरलेस स्मार्टफोन चार्जर, ८.८ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर तथा अन्य प्रविधि सुविधा थप गरिएको छ ।

चालक र अगाडिको यात्रुका लागि भेन्टिलेटेड सिट उपलब्ध गराइएको छ । एट्टो ३ एडभान्स र सुपेरियर भेरियन्टमा डिराक एचडी साउन्ड र ८ वटा स्पिकरसमेत राखिएको छ ।

२०२६ बीवाईडी एट्टो ३ एडभान्सको मूल्य ६२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । 

एक्स्पोमा विशेष सुविधा

नयाँ एट्टो सिरिज सार्वजनिक गरेको अवसरमा बीवाईडीले नाइमा मोबिलिटी एक्स्पोमा गाडी खरिद गर्ने ग्राहकका लागि विभिन्न सुविधा ल्याएको छ ।

योजनाअन्तर्गत एक वर्षको निःशुल्क इन्फोटेनमेन्ट तथा बीवाईडी एप कनेक्टिभिटी, नगद छुट, १० वर्षसम्मको विस्तारित वारेन्टी, एक वर्षको निःशुल्क बीमा, एक वर्षको निःशुल्क सडक दस्तुर तथा निःशुल्क एसेसरिज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ ।

एक्स्पोमा बीवाईडीको स्टल हल ‘ए’ अन्तर्गत स्टल ए५ मा रहेको छ । त्यहाँ ग्राहकले नयाँ एट्टो सिरिजका गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।

नयाँ पुस्ताका एट्टो सिरिजमा गरिएको डिजाइन, प्रविधि, सुरक्षा र आरामसम्बन्धी सुधारले नेपाली विद्युतीय सवारी बजारमा बीवाईडीको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाउने कम्पनीको अपेक्षा छ ।

Share News