पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ ।

कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।

बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको थियो ।

त्यस्तै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरिएको सेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइन राख्नुपर्ने व्यवस्था रहेको जनाएको  छ ।

सोहीअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि भदाै २८ गते समाप्त हुने कम्पनीले जानकारी गराएको छ ।  

Share News