अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडमा पानीको हाहाकार

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडको जलस्तर हालसम्मकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकी ब्युरो अफ रिक्लेमेसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार लामो समयदेखिको खडेरीका कारण यस जलाशयको सतह सन् १९३७ मा पहिलोपटक भरिएयताकै सबैभन्दा तल्लो स्तरमा झरेको हो ।

ब्युरोको अभिलेखअनुसार हाल यस तालको पानीको सतह १ हजार ४० दशमलव ४० फिट (करिब ३१७ मिटर) कायम भएको छ । यसअघि सन् २०२२ को जुलाईमा जलस्तर १ हजार ४० दशमलव ५८ फिट (३१७ दशमलव १७ मिटर) रेकर्ड गरिएको थियो, जसलाई त्यसबेलासम्मकै सबैभन्दा न्यून स्तर मानिएको थियो ।

कोलोराडो नदी अमेरिकाका सातवटा राज्य हुँदै बग्छ र यसले करिब ४ करोड मानिसलाई पानी आपूर्ति गर्दै आएको छ । ब्युरोको तथ्याङ्कअनुसार अगस्टको सुरुवातसम्म आइपुग्दा लेक मिडको जल भण्डारण क्षमता घटेर केवल २७ प्रतिशतमा सीमित हुन पुगेको छ ।

नेभाडा र एरिजोना राज्यको सिमानामा कोलोराडो नदीमाथि निर्मित हुभर बाँधबाट लेक मिड जलाशय बनेको हो । यो जलाशय र बाँध नेभाडाको लास भेगासबाट करिब ४८ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।

Share News