काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले गरिमा समृद्धि योजना (जीएसवाई) को प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको ९४औँ बैठकले अशोक सुवेदीलाई एक्टिङ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईसँग भएको सेवा सम्झौता साउन मसान्तमा समाप्त हुने भएकाले त्यसको नवीकरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
कम्पनीको निरन्तर व्यवस्थापन तथा दैनिक कारोबार सञ्चालन कायम राख्न सुवेदीलाई एक्टिङ सीईओको जिम्मेवारी दिइएको हो ।
सुवेदी यसअघि कम्पनीमा सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनलाई भदौ १ गतेदेखि लागू हुने गरी एक्टिङ सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
गरिमा क्यापिटल गरिमा समृद्धि योजना (जीएसवाई) को योजना व्यवस्थापक (फन्ड म्यानेजर) का रूपमा कार्यरत छ ।
को हुन् उनी
अशोक सुवेदीले चार्टर्ड एकाउन्टेन्सीमा व्यावसायिक डिग्री तथा वाणिज्यशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनीसँग बैंकिङ तथा पुँजी बजार क्षेत्रमा ६ वर्षभन्दा बढीको कार्यअनुभव रहेको छ ।
उनले चार्टर्ड एकाउन्टेन्ट संस्था देवेन्द्र के. जैन एन्ड एसोसिएट्समा ३ वर्ष इन्टर्नका रूपमा आफ्नो करियर सुरु गरेका थिए । सो अवधिमा उनले बजारको गतिशीलता तथा कार्यप्रणालीबारे महत्वपूर्ण अनुभव हासिल गरेका थिए ।
गरिमा क्यापिटल लिमिटेडमा आबद्ध हुनुअघि उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरेका छन् । उनले तत्कालीन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड) तथा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक (हाल कुमारी बैंक लिमिटेड) लगायतका संस्थामा समेत कार्य गरेका छन् ।