काठमाडौं । व्यवसायी डा. उपेन्द्र महतोले स्मार्ट टेलिकम प्रालिमा आफ्नो सुरुदेखि हालसम्म कुनै सेयर लगानी नरहेको दाबी गरेका छन् ।
उनले विदेशी लगानी स्वीकृति नलिई आफूले विदेशबाट कुनै रकम नेपाल नल्याएको पनि दावी गरेका छन् ।
स्मार्ट टेलिकमसम्बन्धी बयानका क्रममा महतोले अजेय राज सुमार्गी पराजुलीलाई जग्गा खरिद तथा सिमेन्ट कारखाना सञ्चालनका लागि आवश्यक रकम भन्दै पटक–पटक गरी करिब एक अर्ब रुपैयाँ सापटी दिएको बताएका छन् ।
उक्त रकममध्ये केही फिर्ता भइसकेको र केही रकम फिर्ता हुन बाँकी रहेको उनको भनाइ छ ।
सतिसलाल आचार्य र सचिनलाल आचार्यसँग आफ्नो कुनै कारोबार नरहेको महतोले बताएका छन् । भावना सिंह श्रेष्ठसँग पनि कम्पनीमार्फत कुनै कारोबार नभएको उनको दाबी छ ।
अजेय राजसँग सन् २००४ मा काठमाडौंमा भएको एनआरएन सम्मेलनमा तथा सतिसलाल आचार्यसँग सन् २००८ तिर सिंगापुरमा भएको एनआरएन सम्मेलनमा चिनजान भएको उनले बयानका क्रममा बताएका छन् ।
महतोले सन् २००५ तिर हालको एनसेल आजियाटा लिमिटेडको साविक स्पाइस नेपाल प्रालि (मेरो मोबाइल) मा राज समूहबाट २० प्रतिशत सेयर खरिद गरेको र पछि उक्त सेयर निरज गोविन्द श्रेष्ठलाई बिक्री गरेको उल्लेख गरेका छन् ।
उक्त लगानी नेपाल सरकारबाट विदेशी लगानी स्वीकृति लिएर वैधानिक बैंकिङ प्रणालीमार्फत गरिएको उनको दाबी छ । नेपाल स्याटेलाइट तथा अन्य दूरसञ्चार कम्पनीमा आफ्नो सेयर लगानी नरहेको उनले बताएका छन् ।
भावना सिंह श्रेष्ठको नामबाट आफ्नो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा १ अर्ब ५० करोड रुपैयाँ आएको र उक्त रकम एनसेल आजियाटाबाट प्राप्त लाभांश भएको मौखिक जानकारी आफूलाई दिइएको महतोले बयानमा उल्लेख गरेका छन् ।
रकमको स्रोत पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित व्यक्तिहरूकै भएको उनको भनाइ छ । उनका अनुसार आफू एकल सञ्चालक रहेको एमजी हर्बल एन्ड इन्भेष्टमेन्ट प्रालिबाट रियल इस्टेट व्यवसायका लागि रकम स्थानान्तरण गरिएको थियो ।
आफ्नो साथी कजाकस्तानी नागरिक बाउर्जानको आग्रहमा सोही कम्पनीमार्फत स्मार्ट टेलिकमलाई सापटी दिएको र उक्त रकम स्मार्ट टेलिकमले फिर्ता गरिसकेको उनले बताएका छन् ।
एनसेल आजियाटाले स्मार्ट टेलिकम प्राप्त गर्ने उद्देश्यले केपीएमजी भारतमार्फत ड्यु डिलिजेन्स अडिट गराएको र त्यसको प्रतिवेदनमा एमजी हर्बलको नाममा २ करोड रुपैयाँ लगानी देखाइएको विषयमा आफूलाई जानकारी नभएको महतोको दाबी छ ।
एमजी हर्बलले स्मार्ट टेलिकमलाई १९ करोड रुपैयाँ सापटी दिएकोमा २२ करोड रुपैयाँ फिर्ता भएको विषयमा समेत उनले बयान दिएका छन् ।
स्मार्ट टेलिकमलाई रकम दिँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे वा बैंकका सञ्चालकहरूसँग आफूले सम्पर्क नगरेको महतोको दावी छ ।
पाण्डे दुबई गई बुरुन्डीस्थित आफ्नो व्यावसायिक साझेदार रोमियो अब्दोलाई भेटेर स्मार्ट टेलिकमको कर्जाको किस्ता तिर्न रकम व्यवस्थापन गरेको भन्ने विषयमा समेत आफूलाई जानकारी नभएको पनि उनले बताएका छन् ।
साइप्रसमा दर्ता भएको डेल्टा ट्रेडिङ लिमिटेड र टाइमटर्न्स होल्डिङ्समा आफ्नो लगानी रहेको महतोले स्वीकार गरेका छन् ।
टाइमटर्न्स होल्डिङ्सबाट भुपेन्द्र भण्डारीको नबिल बैंक खातामा रकम भुक्तानी भएको विषयमा भने आफूलाई यकिन सम्झना नभएको उनले बताएका छन् ।
स्मार्ट टेलिकम बुरुन्डीमा आफ्नो समेत लगानी रहेको र भण्डारीले त्यहाँ करिब आठ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको पनि उनले उल्लेख गरेका छन् ।
स्मार्ट टेलिकमको ड्यु डिलिजेन्स अडिटमा ‘डाइरेक्टरबाट प्राप्त अग्रिम’ शीर्षकमा २८ करोड तथा नेपाल स्याटेलाइट टेलिकमको नाममा ९७ करोड रुपैयाँ उल्लेख भएको र उक्त कम्पनीको अन्तिम हिताधिकारी सतिसलाल आचार्य रहेको विषयमा आफूलाई जानकारी नभएको महतोको भनाइ छ ।
स्मार्ट टेलिकमको लाइसेन्स खारेज भई २०८० वैशाख ३ गतेदेखि कानुनबमोजिम नेपाल सरकारको स्वामित्वमा आएको कम्पनीका टावरलगायत सम्पत्ति एनसेल आजियाटा लिमिटेडले ४ अर्ब ६० करोड रुपैयाँमा लिलाम सकार गरेको र त्यसमा मिलेमतो, ठगी तथा आपराधिक विश्वासघात भएको भन्ने विषय आफूले सञ्चारमाध्यमबाट समाचार आएपछि मात्र थाहा पाएको महतोले बताएका छन् ।
त्यसैगरी एनसेलको सेयर वास्तविक मूल्यभन्दा अस्वाभाविक रूपमा कम मूल्याङ्कन गरी बिक्री–वितरण गरेर नेपाल सरकारलाई ठगी गरिएको भन्ने समाचार पनि सञ्चारमाध्यमबाट आएपछि मात्र आफूले थाहा पाएको उनले बयानमा उल्लेख गरेका छन् ।