नाइमा एक्स्पो: तीन दिनमै १५ सय सवारीसाधन बुक, ईभीको वर्चस्व

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रूपमा अघि बढेको छ । अटो व्यवसायीहरूका अनुसार एक्स्पोको पहिलो तीन दिनमै दैनिक औसत ४०० देखि ५०० का दरले करिब १५ सय युनिट सवारीसाधन बुकिङ भएका छन् । 

बुकिङ हुने गाडीहरूमा विद्युतीय सवारी साधन (ईभी) को संख्या अधिक रहे पनि अघिल्ला वर्षहरूको तुलनामा इन्टर्नल कम्बस्चन इन्जिन (आन्तरिक दहन इन्जिन-आईस) का गाडीहरूले पनि राम्रो प्रतिक्रिया र बुकिङ पाएका छन् । 

एक्स्पोमा अवलोकनकर्ताको प्रमुख रोजाइमा पर्दै बीवाईडी, टाटा र नेपालमा पहिलोपटक डेब्यु गरेको चेरी ब्रान्डले सबैभन्दा धेरै बुकिङ प्राप्त गरेका छन् । 

यी तीन ब्रान्डबाट मात्रै ८५० भन्दा बढी गाडी बुकिङ भइसकेका छन् । जसमा बीवाईडी र चेरीका ३००/३०० युनिट तथा टाटाका २५० भन्दा बढी गाडी रहेका छन् । 

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ फिचर र प्रविधिसहित टियागो ईभी फेसलिफ्ट बजारमा ल्याएको छ । जसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ र ठूलो ब्याट्री क्षमताको पन्च ईभी फेसलिफ्ट ३२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । 

यस्तै, बीवाईडीले अट्टो १ फेसलिफ्ट ३० लाख ७५ हजार रुपैयाँ रहेको छ भने अट्टो २ बेस भेरियन्टको ४५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, अट्टो ३ फेसलिफ्ट ६२ लाख ९० हजार रुपैयाँ रहेको छ । 

नेपालमा नयाँ भित्रिएको चेरी क्यु-क्यु ब्रान्डको क्यु३ कम्फर्ट भेरियन्ट एक्स्पो छुटसहित ९९ हजार मूल्य तोकिएको छ भने प्रिमियम भेरियन्ट ३२ लाख ९९ हजार रुपैयाँमा राखिएको छ ।

यसैगरी, हुन्डाई र लिपमोटरका समान १५०/१५० युनिट गरी ३०० भन्दा बढी गाडी बुकिङ भएका छन् । 

हुन्डाईले प्रिमियम ईभी आयोनिक ९ र टर्बो इन्जिन क्षमताको भेन्यु फेसलिफ्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँदेखि ६७.लाख ९६ हजार रुपैयाँमा बिक्री गरिरहेको छ ।

लिपमोटरको बी०३ एक्सको मूल्य ४६ लाख ९९ हजार रहेको छ । जसमा पहिलो १०० ग्राहकलाई ४४ लाख ९९ हजार रुपैयाँमा दिएको छ । यसले धेरै अवलोकनकर्ताको ध्यान खिचेको छ । 

यसका साथै एमजी, ओमोडा, टोयोटा र आइकार लगायतका अन्य ब्रान्डहरूबाट पनि करिब ३ सय गाडी बुकिङ भइसकेको व्यवसायीहरूले जनाएका छन् । 

Share News