नेपाल टेलिकमले कमायो ८ अर्ब ८६ करोड खुद नाफा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.५८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ७ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो ।

कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो ।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा कम्पनीको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको ९ अर्ब ८५ करोड २ लाख रुपैयाँको तुलनामा करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले बढेको हो ।

त्यस्तै, कम्पनीको ईबीआईटीडीए २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा यो १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशत बढी हो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।

कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण ब्याज आयमा भने कमी आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा ब्याज आय करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको छ ।

राजस्व वृद्धिमा भने जीएसएम सेवातर्फको आम्दानीले योगदान गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तुलनामा जीएसएमतर्फको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

राष्ट्रको सञ्चार सेवाका रूपमा कम्पनीले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारको कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Share News