काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् उत्पादनसँगै विद्युत् व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन अपरिहार्य रहेको बताएका छन् ।
इप्पानको आयोजनामा भएको फ्राइडे फोरममा बोल्दै उनले नेपालमा विद्युत् उत्पादन र प्रसारण पूर्वाधार निर्माणमा निजी क्षेत्र सक्षम भइसकेकाले अब विद्युत् व्यापारमा समेत प्रवेश दिनुपर्ने बताएका हुन् ।
नेपालमा निजी क्षेत्रले विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणमा आफ्नो क्षमता प्रमाणित गरिसकेको अध्यक्ष डाँगीले बता ए। भारतमा निजी क्षेत्रका दर्जनौँ कम्पनी विद्युत् व्यापारमा सक्रिय रहेको उदाहरण दिँदै उनले नेपालमा पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिनुपर्नेमा जोड दिए ।
नेपालमा उत्पादन हुने विद्युत्को बजार विस्तार सरकारले मात्रै गर्न नसक्ने उनको भनाइ छ । विद्युत् व्यापारका लागि आवेदन दिएका कम्पनीलाई यथाशीघ्र अनुमति प्रदान गर्न उनले सरकारसँग माग गरे ।
उनका अनुसार ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रवेश भएको २५ वर्षमा विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको छ । हाल करिब ६ हजार २०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको उनले जानकारी दिए ।
त्यस्तै, २ हजार २०० मेगावाटका आयोजना वित्तीय व्यवस्थापनको चरणमा रहेका छन् भने करिब १६ हजार १४० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को प्रक्रियामा रहेका छन् ।
निर्माणाधीन तथा विभिन्न चरणमा रहेका आयोजनालाई समयमै अघि बढाउन सके सरकारले लिएको आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ । तर, उत्पादन बढाउन आन्तरिक विद्युत् खपत वृद्धि र निर्यात बजार सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष डाँगीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा समेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गरे । नेपाल विद्युत् प्राधिकरणका ठेकेदारले समयमा निर्माण गर्न नसकेको तनहुँको मार्कीचोकदेखि चितवनको भरतपुरसम्मको २२० केभी प्रसारण लाइन निजी क्षेत्रको नेतृत्वमा निर्माण सम्पन्न भएको उनले बताए ।
उनका अनुसार हाल नेपालबाट भारततर्फ १३२/३३ केभीका विभिन्न प्रसारण लाइनमार्फत करिब ७०० मेगावाट तथा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत १ हजार २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने अवस्था छ ।
सन् २०२७/२८ सम्म ढल्केबर–सीतामढी, न्यू बुटवल–गोरखपुर, इनरुवा–पूर्णिया र लम्की–बरेली प्रसारण लाइन निर्माण सम्पन्न भएमा थप ८ हजार ८०० मेगावाट विद्युत् निर्यात गर्न सकिने सम्भावना रहेको उनले बताए ।
त्यस्तै, रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइनमार्फत चीनतर्फ करिब २ हजार ५०० मेगावाट विद्युत् निर्यात गर्ने सम्भावना रहेको उनको भनाइ छ । यसका लागि विद्युत् उत्पादन र प्रसारण लाइनको विकासलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले नेपालमा निजी लगानी विधिवत् रूपमा प्रवेश गरेपछि पछिल्ला २५–२६ वर्षमा निजी क्षेत्रले विद्युत् उत्पादनमा उल्लेख्य योगदान गरेको बताए । आयोजनाको विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरणका सबस्टेसनसम्म विभिन्न क्षमताका प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रले काम गरिरहेको उनले बताए ।
‘यस अर्थमा विद्युत् उत्पादनमा निजी क्षेत्र सक्षम छ । नेपाल विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट गर्दा आयोजनाको विद्युत् गृहदेखि नेविप्राको सबस्टेसनसम्म विभिन्न क्षमताका प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ,’ उनले भने ।
उनले भारतमा ५० भन्दा बढी निजी कम्पनीले विद्युत् व्यापार गरिरहेको उदाहरण दिँदै नेपालमा पनि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने बताए ।
‘नेपालको विद्युत् उत्पादन, निर्माणाधीन आयोजना, पीपीएको लाइनमा रहेका आयोजना, प्रसारण लाइन निर्माण, नेपालको खपत वृद्धिको अवस्था र निजी क्षेत्रको योगदानको मूल्याङ्कन गर्दा नेपालको निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन अत्यन्त जरुरी भएको छ,’ उनले भने ।
यसैबीच, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र इप्पानबीच प्रसारण पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौताले निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माणलाई गति दिने अपेक्षा गरिएको अध्यक्ष डाँगीले बताए ।