वर्तमान सरकार कामचलाउ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सरकारलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए ।

वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत उल्लेख गरे ।

उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’

Share News