के नागढुङ्गा सुरुङमार्ग उद्घाटनपश्चात बन्द गरिएको हो ?

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन भएपनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । 

सुरुङमार्गको सञ्चालनको जिम्मा पाएको युसियन एआरटी टोलीका नेपाली प्रतिनिधि तथा सेफ्टी म्यानेजमेन्ट डेपुटी लिडर कविराज श्रेष्ठले सुरुङमार्ग पूर्णरूपमा बन्द नभई परीक्षण र अभ्यासका लागि केही समय मात्र रोकिने गरेको जानकारी दिए ।

उनका अनुसार अहिले सुरक्षा र उद्धारको पूर्व–तयारीका लागि ‘मक ड्रिल’ अभ्यास भइरहेको हो ।

सुरुङमार्गभित्र हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्वास्थ्यकर्मी र उद्धार टोलीको दक्षता परीक्षण गर्न यस्तो अभ्यास भइरहेको हो ।

अभ्यासका क्रममा सुरुङमार्गभित्र दुई वा सोभन्दा बढी सवारी साधनहरू एकापसमा ठोक्किएको काल्पनिक दृश्य बनाएर उद्धार कार्यको अभ्यास भइरहेको श्रेष्ठले बताए ।

के हो मक ड्रिल ? 

श्रेष्ठका अनुसार मक ड्रिल एउटा यस्तो अभ्यास हो, जहाँ टनेलभित्र दुर्घटना भएको अवस्थामा कति छिटो अस्पतालबाट एम्बुलेन्स आउँछ, नगरपालिकाबाट दमकल कति समयमा आइपुग्छ र सुरक्षा निकायले कसरी रेस्क्यु गर्छ भन्ने कुराको परीक्षण गरिन्छ । 

यस क्रममा घाइतेलाई उद्धार गर्ने र दुर्घटनामा परेका सवारी साधनलाई टनेल बाहिर निकाल्ने अभ्यास गरिन्छ । यस्ता अभ्यासका बेला ३ देखि ४ घण्टासम्म सुरुङमार्ग पूर्ण रूपमा बन्द हुने गर्दछ । 

साना सवारी साधनलाई प्राथमिकता सुरुङमार्ग सर्वसाधारणका लागि कहिले खुल्छ भन्ने जिज्ञासामा श्रेष्ठले एक-दुई भित्र नै साना चारपाङ्ग्रे सवारीसाधन (कार, जिप) का लागि परीक्षणका रूपमा बाटो खुला गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार ठूला सवारी साधन र अन्यको हकमा भने थप परीक्षणपश्चात निर्णय लिइनेछ । सुरक्षामा उच्च मनोबल हालसम्म गरिएका अभ्यासहरूबाट उद्धार टोली उत्साहित देखिएको छ ।

सामान्य खालका दुर्घटना र उद्धारका लागि टोली पूर्ण रूपमा सक्षम र विश्वस्त रहेको अधिकारीहरूको भनाइ छ । यद्यपि, टनेल भित्र ठूलो आगलागी वा जटिल परिस्थिति सिर्जना भएमा त्यसका लागि छुट्टै विशेष योजना अनुसार काम गर्नुपर्ने उनीहरू बताउँछन् । 

हाल सुरुङ मार्गमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीहरूको आवतजावतलाई निरन्तरता दिँदै सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अन्तिम चरणको तयारी भइरहेको छ ।

Share News