दक्षिण कोरियाको सत्तारुढ दलको अध्यक्षमा पूर्वप्रधानमन्त्री किम निर्वाचित

काठमाडौं । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री किम मिन–सुक सत्तारुढ डेमोक्रेटिक पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनको नतिजाअनुसार किम पार्टीको नेतृत्व चयन प्रक्रियामा विजयी भएका हुन् ।

नेतृत्वका लागि भएको प्रतिस्पर्धामा किमले कुल ५४.०८ प्रतिशत मत प्राप्त गर्दै शिर्ष स्थान सुरक्षित गरे । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जुङ चुङ–रेलाई पराजित गरेका हुन्, जसले ४५.९२ प्रतिशत मत प्राप्त गरे । जुङ पार्टी प्रमुखका रूपमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । 

निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि र्याङ्क–च्वाइस (वरीयतामा आधारित) मतदान प्रणालीमार्फत दोस्रो चरण (रनअफ) बाट नेतृत्वको टुङ्गो लगाइएको हो । पार्टीले भर्खरै कार्यान्वयनमा ल्याएको यस नयाँ प्रणालीअनुसार मतदाताले उम्मेदवारहरूलाई पहिलो, दोस्रो र तेस्रो प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

यदि कसैले पनि स्पष्ट बहुमत नल्याएमा, सबैभन्दा कम मत पाउने उम्मेदवारको दोस्रो प्राथमिकताको मतलाई अन्य उम्मेदवारहरूमा बाँडफाँड गरी विजेता घोषणा गरिन्छ । यस निर्वाचनमा प्रतिनिधि तथा दर्ता भएका पार्टी सदस्यहरूको मतलाई ७० प्रतिशत र राष्ट्रिय जनमत सर्वेक्षणको नतिजालाई ३० प्रतिशत भार दिइएको थियो ।

विजयी भएपछि किमले पार्टी सदस्य र आम नागरिकप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा राष्ट्रपति र सरकारलाई रचनात्मक सहयोग पुर्याउने तथा पार्टी र सरकारबीच सन्तुलित र सहयोगात्मक सम्बन्ध स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।    

Share News