काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बिना जानकारी लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेकी एक लेखापाललाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
महालेखा नियन्त्रक कार्यालय, अनामनगरले यान्त्रिक तालिम केन्द्र, पाटनढोका, ललितपुरमा कार्यरत नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणीकी लेखापाल सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका अनुसार ज्ञवाली वि.सं २०८१ पुस २ गतेदेखि आफू कार्यरत कार्यालयमा बिना जानकारी अनुपस्थित रहँदै आएकी छन् । उनी ९० दिनभन्दा बढी समयसम्म कार्यालयमा हाजिर नभएको पाइएको कार्यालयले जनाएको छ ।
यसअघि गत साउन १२ गते गोरखापत्र दैनिकमार्फत १५ दिने सूचना प्रकाशित गरी सफाइ र स्पष्टीकरण पेस गर्न आग्रह गरिएको थियो । तर, तोकिएको अवधिभित्र कुनै पनि स्पष्टीकरण प्राप्त नभएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम ३० दिनभित्र सफाइ तथा स्पष्टीकरण पेस गर्न दोस्रो पटक मौका दिइएको छ । यदि अवधिभित्र स्पष्टीकरण पेस नगरे भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने कार्यालयले जनाएको छ ।