काठमाडौं । सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदबीच पछिल्लो समय बढ्दै गएको असमझदारी मिलाउन पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठक सुरु भएको छ ।
बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमो बैठक सुरु भएको एक सांसदले जानकारी दिए ।
बैठकमा सरकार सञ्चालन, संसदमा सांसदहरूको प्रस्तुतिसहित पछिल्ला गतिविधिको समीक्षा गरिने भएको छ ।
बैठकमा मन्त्री र सांसदबीच देखिएको असमझदारी अन्त्य गर्दै पार्टीको अनुशासन, मर्यादा र संसदीय आचरण पालना गर्न निर्देशन दिने तयारी रहेको ती सांसदले जानकारी दिए ।
पार्टीकै सरकारका मन्त्रीहरूले संसदमा दिएको जवाफप्रति केही सांसदले असन्तुष्टि जनाउने, सार्वजनिक रूपमा टिप्पणी गर्ने तथा संसद् बैठकमै असन्तुष्टि प्रकट गर्ने क्रम बढेपछि रास्वपा नेतृत्वले यस विषयलाई गम्भीरतापूर्वक लिन थालेको हो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि यस्तै घटना देखिएको थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालले सांसदहरूका प्रश्नको जवाफ दिइरहेका बेला रास्वपा सांसद आशिका तामाङ असन्तुष्टि जनाउँदै बैठक कक्षबाट बाहिरिएकी थिइन् ।
उनको उक्त व्यवहारलाई संसदीय मर्यादासँग जोडेर चर्चासमेत भएको छ ।
पछिल्लो समय केही सांसदले संसदमा प्रयोग गर्ने भाषा, अभिव्यक्ति र प्रस्तुतिको शैलीप्रति समेत पार्टी नेतृत्व असन्तुष्ट रहेको बताइएको छ ।
सरकारमा सहभागी मन्त्री र संसदमा रहेका सांसदबीच समन्वय कमजोर हुँदा त्यसको प्रभाव पार्टीको समग्र छविमा पर्न सक्ने भन्दै नेतृत्वले बैठकमार्फत आन्तरिक विवाद व्यवस्थापन गर्न खोजेको बैठकमा उपस्थित एक पूर्व पदाधिकारीले जानकारी दिए ।
बैठकमा सरकार र पार्टीबीचको समन्वय, मन्त्री सांसद सम्बन्ध तथा संसदमा पार्टीका सांसदको भूमिकाबारे पनि छलफल हुने ती पूर्वपदाधिकारीले बताए ।
नेतृत्वले सरकारका निर्णय र मन्त्रीहरूको कामकारबाहीबारे असन्तुष्टि भए पार्टीको आन्तरिक संयन्त्रमार्फत राख्न र सार्वजनिक रूपमा विवाद बढाउने गतिविधि नगर्न सांसदहरूलाई निर्देशन दिने तयारी गरेको छ ।