काठमाडौं । अर्थ मन्त्रालयका सचिव धनश्याम उपाध्यायमाथि विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै अनुसन्धान तथा छानबिन गर्न माग गरिएको छ ।
मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा दर्ता गरिएको निवेदनमार्फत उपाध्यायमाथि अनुसन्धान अघि बढाउन माग गरिएको हो । निवेदनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न आग्रह गरिएको हो ।
निवेदनमा उपाध्याय विभिन्न विवादमा मुछिएको दाबी गरिएको छ । उनको आर्थिक कारोबार, सेयर स्वामित्व तथा बिचौलियासँगको सम्बन्धबारे अनुसन्धान गर्न माग गरिएको छ ।
उपाध्यायलाई अर्थ सचिवका रूपमा सरुवा गराउन बिचौलिया दीपक भट्टको भूमिका रहेको आरोपसमेत निवेदनमा लगाइएको छ ।
भट्टको नेतृत्वमा स्थापना गरिएको भनिएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा उपाध्यायको परिवारको सेयर स्वामित्व रहेको दाबी निवेदकले गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयको विवरणलाई आधार बनाउँदै निवेदनमा उपाध्यायकी श्रीमती भावना उपाध्यायको नाममा उक्त कम्पनीको १० हजार कित्ता सेयर रहेको उल्लेख गरिएको छ ।
सार्वजनिक पदमा रहेका व्यक्तिको परिवारका सदस्यको नाममा रहेको सेयर स्वामित्व, त्यससँग सम्बन्धित आर्थिक कारोबार तथा निर्णय प्रक्रियाबीच स्वार्थको द्वन्द्व वा अनुचित प्रभाव भए–नभएको विषयमा छानबिन गर्न निवेदनमा माग गरिएको छ ।
त्यस्तै, उपाध्याय र बिचौलियाबीचको सम्बन्ध तथा उक्त सम्बन्धले सरकारी जिम्मेवारी र निर्णय प्रक्रियामा प्रभाव पारेको भए त्यसबारे समेत अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
