झुटा विवरण पेस गरी शिक्षकको स्थायी नियुक्ति लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले झुटा विवरण पेस गरी शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भई माध्यमिक तहमा स्थायी नियुक्ति लिएको आरोपमा केसीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार केसीले २०६३ सालमा अस्थायी विस्थापित शिक्षकलाई एकपटक आन्तरिक प्रतिस्पर्धामा सहभागी गराउने निर्णयअनुसार आफू विस्थापित शिक्षक भएको झुटा विवरण पेस गरेका थिए ।

अनुसन्धानका क्रममा उनी विस्थापित शिक्षक नभएको र स्थायी शिक्षकको नियुक्ति लिएर राजीनामा दिएको तथ्य खुलेको अख्तियारले जनाएको छ । उनले २०६१ असार २ गते प्राथमिक विद्यालय शिक्षकको स्थायी नियुक्ति लिइसकेको अवस्थामा माध्यमिक विद्यालय शिक्षकको परीक्षामा सहभागी भई स्थायी नियुक्ति लिएको पाइएको आयोगको भनाइ छ ।

शिक्षक सेवा आयोगको विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था थियो । केसीले पेस गरेको झुटा विवरण तत्कालीन जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले प्रमाणित गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले केसीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै सोहीबमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ ।

त्यस्तै, तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेले मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारका रूपमा काम गरेको भन्दै उनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारले न्यौपानेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम सजायको मागदाबी गरेको छ ।

आयोगले दुवै प्रतिवादीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

Share News