राठी ट्रेडिङले भक्तपुरमा खोल्यो अत्याधुनिक ईभी सर्भिस सेन्टर

काठमाडौं । चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले मनोहरास्थित राठी अटो वर्क्ससँगै राठी चार्जिङ नेटवर्क पनि सञ्चालनमा ल्याएको हो । बुधबार आयोजित कार्यक्रममा शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्कको औपचारिक शुभारम्भ गरे ।

कार्यक्रममा केन सुनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभी उपलब्ध गराउन कम्पनीले काम गरिरहेको बताए । उनले सवारी साधनसँगै स्पेयर पार्ट्स र सेवा सञ्जाल विस्तारमा समेत ध्यान दिइरहेको बताए ।

राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले सवारी बिक्रीपछि ग्राहकलाई गुणस्तरीय सेवा दिनु कम्पनीको प्रमुख जिम्मेवारी भएको बताए । आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउने र भरपर्दो चार्जिङ सुविधा निर्माण गर्ने उद्देश्यले सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क विस्तार गरिएको उनको भनाइ छ ।

कम्पनीका सीईओ मनोज खतिवडाले ईभीको बिक्रीसँगै चार्जिङ पूर्वाधार विस्तारमा पनि विशेष ध्यान दिनुपर्ने बताए । सोहीअनुसार देशभर सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको उनले जानकारी दिए । 

एकैपटक १२ वटा ईभी चार्ज गर्न सकिने

मनोहरास्थित सर्भिस सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सुविधा रहेको कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरमा पर्याप्त पार्किङ, ग्राहकका लागि बस्ने स्थान र क्याफेको व्यवस्था गरिएको छ । वर्कशपमा भइरहेका गतिविधि प्रत्यक्ष हेर्न सकिने सुविधा पनि रहेको छ ।

ग्राहकले एउटै स्थानबाट सर्भिसिङ, चार्जिङ र वासिङलगायतका सुविधा लिन सक्नेछन् । सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्स पनि स्टकमा राखिएको कम्पनीले जनाएको छ ।

सामान्य पार्ट्स नेपालभर ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

४८० किलोवाटको चार्जिङ स्टेसन

राठी ट्रेडिङले काठमाडौंमा ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र गतिमा चार्ज हुने चार्जिङ स्टेसनमध्ये एक हो ।

त्यस्तै, नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

कम्पनीले यही वर्ष देशका प्रमुख सहरमा पूर्वदेखि पश्चिमसम्म चार्जिङ स्टेसन विस्तार गर्ने योजना बनाएको छ । प्रत्येक सुविधा सहित ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विस्तार गर्ने कम्पनीको योजना छ ।

यी चार्जिङ स्टेसनलाई ‘वान स्टप सोलुसन’का रूपमा विकास गरिने कम्पनीले जनाएको छ । 

दुई मोडलका ईभी भ्यान बिक्रीमा

राठी ट्रेडिङले हाल आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गरिरहेको छ ।

आरजेडएम ई५ मा ५३.५ किलोवाट आवरको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवरका दुई ब्याट्री विकल्प छन् । यी ब्याट्रीले क्रमशः ३३० र ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ लाई ४५ मिनेटमै चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

आरजेडएमका ईभी भ्यानमा १८० एमएम ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै चक्कामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, पावरफुल एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका सुविधा रहेका छन् ।

कम्पनीले नेपाली सडकमा परीक्षण गरी आवश्यक सुधार गरेर सवारी साधन उपलब्ध गराउँदै आएको जनाएको छ ।

आरजेडएमका सवारी साधनमा ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटर र अन्य पार्ट्समा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

Share News