काठमाडौं । भदौ ३ गते (बुधबार) दिउँसो बालुवाटारस्थित गरिमा विकास बैंकको नवनिर्मित भवनमा असामान्य चहलपहल थियो । बैंकका कर्मचारीहरू पाहुनाको स्वागतमा व्यस्त थिए । नेपाल राष्ट्र बैंकका गभर्नरदेखि न्यायाधीश, नियामक निकायका प्रतिनिधि, सेयरधनी र बैंकका अधिकारीहरू एकै ठाउँमा उपस्थित थिए ।
कार्यक्रमको केन्द्रमा थियो- नयाँ भवनको उद्घाटन । तर, समारोह केवल एउटा भवन उद्घाटनको औपचारिक कार्यक्रममा सीमित थिएन । त्यो एक संस्थाले आफ्नो यात्रालाई फर्केर हेर्ने, विगतलाई सम्झिने र भविष्यको दिशाबारे प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि थियो ।

कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले एउटा रोचक टिप्पणी गरे । ‘सम्पत्ति जोडिनु त्यति महत्त्वपूर्ण विषय होइन । संस्थाको परिचय नाम के हो र ठेगाना कहाँ छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ,’ उनले भने । उनको यो अभिव्यक्तिले गरिमा विकास बैंकको दुई दशक लामो यात्रालाई छोटकरीमा चित्रित गरिदियो ।
३ सहर पार गरेर बालुवाटारसम्म
२०६४ सालमा स्याङ्जाको वालिङबाट सुरु भएको गरिमा विकास बैंकको यात्रा अहिले काठमाडौंको बालुवाटारमा आइपुगेको छ । बैंकको केन्द्रीय कार्यालय सुरुआतमा वालिङमा थियो । त्यसपछि २०६७ सालमा कार्यालय पोखरा सारियो । शाखा सञ्जाल र व्यवसायको आकार वृद्धिसँगै २०७२ सालमा काठमाडौं प्रवेश गर्यो । लाजिम्पाटमा केही वर्ष बिताएपछि बैंकले अहिले आफ्नै भवनबाट सेवा सञ्चालन थालेको छ ।
सीईओ उपाध्यायका अनुसार संस्थाको विकास केवल कारोबारको आकारले मात्र मापन हुँदैन । संस्थाको आफ्नै परिचय, स्थायित्व र पहिचान पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । उनले भने, ‘आज बैंकको परिचयले पूर्णता पाएको छ । बैंकको परिचय नाम गरिमा विकास बैंक र ठेगाना काठमाडौं-२ बालुवाटार बनेको छ ।’
करिब १ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन केवल कार्यालय मात्र होइन, बैंकको दीर्घकालीन सोचको प्रतिबिम्ब पनि हो । ३७ आना अर्थात् ४७ हजार ६२५ वर्गफिट क्षेत्रफलमा बनेको भवनमा एकै समयमा ३२० जना कर्मचारीले काम गर्न सक्छन् । तर, हाल भने करिब १३० जनाले मात्रै काम गर्नेछन् ।
बैंकको भवनमा डबल बेसमेन्ट पार्किङ, पुस्तकालय, तालिम कक्ष र क्यान्टिनको व्यवस्था गरिएको छ । पाँचौं तलाबाट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको भवन स्पष्ट रूपमा देखिन्छ । भवनको अवलोकन गरेपछि गभर्नर डा. विश्वनाथ पौडेलले सहज प्रतिक्रिया दिँदै भने, ‘गज्जबको भवन छ । चारैतिर हरियाली देखिँदो रहेछ ।’
तर, उनको ध्यान भवनको संरचनामा मात्र सीमित रहेन । उनले स्याङ्जाको पहिचान झल्काउने सामग्री भवनभित्र राख्न सुझाव दिए । ‘स्याङ्जाको चिनो के हो ? स्याङ्जाको पहिचान झल्किने वस्तुहरू राख्नुपर्छ,’ उनले भने ।
गभर्नरको रमाइलो संवाद
भवन उद्घाटन समारोहमा स्याङ्जाको प्रसङ्गले वातावरणलाई केहीबेर रमाइलो बनायो । गभर्नर पौडेलले आफू स्याङ्जा घुमेको अनुभव सुनाउँदै त्यहाँका सडकहरू निकै साँघुरा रहेको बताए । त्यसैबेला बैंकका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्वमेयर दिलीपप्रताप खाँडले आफूले सडक विस्तार गर्न खोज्दा मुद्दा परेको अनुभव सुनाए ।
त्यसपछि गभर्नर पौडेलले मजाक गर्दै प्रतिक्रिया दिए, ‘न्यायाधीश पनि स्याङ्जाकै, वकिल पनि स्याङ्जाकै र मुद्दा हाल्ने पनि स्याङ्जाकै हुन्छन् ।’ कार्यक्रम हल हाँसोले गुञ्जियो । त्यसको जवाफमा अध्यक्ष खाँडले कार्यक्रममा चार जना न्यायाधीश उपस्थित रहेको प्रसंग निकाले ।

बैंकिङ र अध्यात्मलाई सँगै अघि बढाउने
गरिमा विकास बैंकको नयाँ भवनको अर्को विशेषता भनेको परिसरभित्र निर्माण गरिएको मन्दिर हो । बैंकका सीईओ उपाध्यायले यसलाई संस्थाको कार्य संस्कृतिसँग जोडेर व्याख्या गरे । उनका अनुसार बैंकले कुनै पनि निर्णय गर्दा नैतिकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेको छ । धार्मिक अनुष्ठानले मानिसलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने भएकाले मन्दिर निर्माण गरिएको उनको भनाइ छ ।
तीन दिनसम्म गरिएको धार्मिक अनुष्ठानपछि देवदेवीहरूको प्राण प्रतिष्ठा गरिएको उनले जानकारी दिए । ‘हामीले लाखौं सेवाग्राहीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । त्यसका लागि नैतिक प्रेरणा आवश्यक हुन्छ,’ उनले भने ।
उनले बैंकबाट हुने प्रत्येक गतिविधि ग्राहक, सेयरधनी, कर्मचारी र नियामक निकायको हितअनुसार सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे । सीईओ उपाध्यायले संस्थाको विकासलाई बच्चा हुर्काउने प्रक्रियासँग तुलना गरे । उनका अनुसार जसरी एउटा आमाले सानो बच्चालाई विभिन्न चरण पार गराउँदै परिपक्व बनाउँछिन्, त्यसरी नै एउटा संस्थालाई पनि निरन्तर संरक्षण, मार्गदर्शन र नेतृत्व आवश्यक हुन्छ ।
२०६४ सालमा २ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी र ६१ जना सेयरधनीबाट सुरु भएको बैंक आज लाखौं सेयरधनी र ६ अर्ब २ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको संस्थामा रूपान्तरण भएको सीईओ उपाध्यायले जानकारी दिए ।
उनका अनुसार १० लाखभन्दा बढी ग्राहक र ३७ जिल्लामा फैलिएका १२६ शाखामार्फत बैंकले सेवा प्रवाह गरिरहेको छ । संस्थापक अध्यक्षदेखि पूर्वसीईओसम्म धेरै व्यक्तिको योगदानले आजको अवस्था सम्भव भएको उनको भनाइ छ ।
बैंकका अध्यक्ष दिलीपप्रताप खाँडले बैंकको भावी यात्रा पारदर्शिता, नैतिकता र अध्यात्मको आधारमा अघि बढाइने बताए । बैंकले केवल आर्थिक गतिविधिलाई मात्र प्राथमिकतामा नराखी नैतिक मूल्य र आध्यात्मिक चेतनालाई पनि संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात गर्ने उनको भनाइ छ ।

उनका अनुसार संस्थाको दीर्घकालीन सफलता केवल वित्तीय उपलब्धिले मात्र सुनिश्चित हुँदैन । त्यसका लागि सत्य, निष्ठा, आत्मबल र कर्मशीलतालाई व्यवहारमा उतार्न आवश्यक हुन्छ । ‘हामीसँग आत्मबल छ, दृढता छ, कर्मशीलता छ र सत्य तथा निष्ठा छ । यही आधारमा सेयरधनी, निक्षेपकर्ता र सेवाग्राहीको मन जित्दै विश्वासलाई अझ बलियो बनाउनेछौं,’ उनले भने ।
अध्यक्ष खाँडले बैंकको सफलतामा कर्मचारीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाभित्र बलियो टिम भावना विकसित भएको बताए । उनले बैंकको सीईओ, डीसीईओ, प्रदेश कार्यालय, शाखा कार्यालय तथा चालकसहित सबै तहका कर्मचारीहरूबीच सहकार्य र एकताको वातावरण रहेको बताए । ‘होस्टेमा हैस्से गर्दै सामूहिक रूपमा काम गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।
कर्मचारीहरूको सेवा-सुविधामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष खाँडले संस्थाभित्रको टिम स्पिरिटलाई थप सुदृढ बनाइने बताए । उनका अनुसार बैंक सञ्चालक समितिले अभिभावकीय भूमिका निर्वाह गर्दै कर्मचारीहरूको मनोबल बढाउने र उनीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्नेछ ।