तीन विभागका महानिर्देशक फेरिए, नेपाललाई सूचना विभागको जिम्मेवारी

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका तीन विभागको नेतृत्व हेरफेर गरेको छ । सूचना तथा प्रसारण विभाग, मुद्रण विभाग र पुरातत्व विभागका प्रमुखको जिम्मेवारी परिवर्तन गरिएको हो ।

सरकारले सूचना तथा प्रसारण विभागका वरिष्ठ सहसचिव छविन्द्र पराजुलीलाई मुद्रण विभागमा सरुवा गरेको छ । पराजुली यसअघि सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए ।

पराजुलीको सरुवापछि सूचना तथा प्रसारण विभागको नेतृत्व उपसचिव अनुप नेपाललाई दिइएको छ । नेपाल यसअघि फ्रिक्वेन्सी शाखामा उपसचिवका रूपमा कार्यरत थिए । सहसचिव प्रमुख रहने व्यवस्था रहेको विभागमा तत्कालका लागि उपसचिव नेपाललाई जिम्मेवारी दिइएको हो ।

यस्तै, यसअघि मुद्रण विभागको महानिर्देशक रहेका सहसचिव रविलाल शर्मालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा तानिएको छ। शर्माको स्थानमा पराजुलीलाई मुद्रण विभागको जिम्मेवारी दिइएको हो ।

उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागको नेतृत्व पनि परिवर्तन गरिएको छ । विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई मन्त्रालयमा सरुवा गरी संस्कृति महाशाखामा जिम्मेवारी दिइएको छ ।

प्रधानाङ्गलाई मन्त्रालयमा ल्याएपछि रिक्त भएको पुरातत्व विभागको महानिर्देशकमा संस्कृति विभागका महानिर्देशक डा. सुरेश श्रेष्ठलाई सरुवा गरिएको छ । श्रेष्ठले अब पुरातत्व विभागको नेतृत्व सम्हाल्नेछन् ।

सरकारले एकैपटक तीन महत्वपूर्ण विभागको नेतृत्व परिवर्तन गरेसँगै सम्बन्धित निकायमा नयाँ नेतृत्वको कार्यसम्पादनलाई चासोका साथ हेरिएको छ । सूचना तथा प्रसारण, मुद्रण र पुरातत्व विभाग आ–आफ्नो क्षेत्रका महत्वपूर्ण सरकारी निकाय भएकाले नेतृत्व परिवर्तनले ती निकायको नियमित काम र आगामी योजनामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

Share News