जब कर बुझाउन जाँदा ३५ लाख घुस मागियो

एआईको सहयोगमा सांकेतिक तस्बिर ।

काठमाडौं । दुई वर्षअघि सिराहाको गोलबजारस्थित गोदाममा अचानक सल्किएको भिषण आगलागीले ’सिरहा सुपरमार्केट प्रा.लि.’ का खाद्यान्न, किचन, इलेक्ट्रोनिक्स र लत्ताकपडा पूर्ण रूपमा खरानी बनाइदियो । एकातिर कोभिड–१९ को दोस्रो लहरको मार र अर्कातिर करोडौँको भौतिक क्षति भोगिरहेको यो फर्ममाथि आन्तरिक राजस्व कार्यालय लहानले आर्थिक वर्ष २०७८/०७९ को पूर्ण कर परीक्षणको फाइल खोल्यो । 

कर कार्यालयले आय विवरण, बिलबिजक र बैंक स्टेटमेन्ट १५ दिनभित्र पेस गर्न पत्राचार गरेपछि सञ्चालक जफिर अन्सारी आवश्यक कागजात बोकेर लहान पुगेका थिए ।  

लहानस्थित कर परीक्षण तथा अनुसन्धान शाखा ’क’ मा कार्यरत २९ वर्षीय कर अधिकृत युवराज एम.एस. पालले कागजात मिलाउन हाकिम साबलाई भन्नुपर्ने र नत्र ३० देखि ३५ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने चेतावनी दिए । 

आगलागीले ध्वस्त भएको व्यवसायमा यति ठूलो जरिवाना सुन्दा छाँगाबाट खसेझैं भएक अन्सारीले याचना गर्दा अधिकृत पालले मुखले रकम नतोकी टेबुलमा रहेको क्यालकुलेटर थिचेर र औंलाको इसाराबाट सोझै १२ लाख रुपैयाँ माग गरे । दुवै पक्षबीच औंलाको इसारामा मोलमोलाइ हुँदै जाँदा अन्तिममा घुसको रकम ५ लाख रुपैयाँ तय भयो ।

अधिकृत पालले घुस रकम सोझै आफ्नो हातमा नलिई गोलबजारस्थित आरआरवाई एण्ड एसोसिएट चार्टर्ड एकाउन्टेन्सका सञ्चालक ३४ वर्षीय चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवलाई बुझाउन निर्देशन दिए । 

लगातारको अत्याचार सहन नसकी व्यवसायी अन्सारीले भ्रष्टाचार विरुद्ध उभिने आँट गर्दै २०८३ श्रावण ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा पुगेर घुस माग गर्दाका गोप्य अडियो÷भिडियो रेकर्डिङहरू आयोगसमक्ष बुझाए ।  

योजनाबद्ध ‘स्टिङ अपरेसन’ गरेर रङ्गेहात पक्राउ

उजुरी दर्ता भएलगत्तै अख्तियारले डिएसपी सरोज राईको नेतृत्वमा टोली खटाई १ हजार दरका ५०० थान नोटका सिरियल नम्बर दर्ता गरेर अन्सारीको जिम्मा लगायो । श्रावण ७ गते दिउँसो अन्सारीले खैरो लेदरको झोलामा ५ लाख रुपैयाँ राखी अधिकृत पालको टेबुलमा राख्नासाथ अख्तियार टोलीले कार्यालय घेराउ गर्यो । 

स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा खानतलासी गर्दा टेबुलको झोलाबाट बरामद नोटका सिरियल नम्बरहरू अख्तियारको भरपाईसँग शतप्रतिशत भिडेपछि पाललाई सामसुङ एस२३ मोबाइलसहित नियन्त्रणमा लिइयो ।

पक्राउ परेपछि अधिकृत पालले रकमबारे आफूलाई थाहा नभएको दाबी गरे पनि वैज्ञानिक अनुसन्धानका अगाडि उनको दाबी टिकेन । अख्तियारको पोलिग्राफ परीक्षणमा पाल र सीए रामरिझन यादव दुवैले झुट बोलेको पुष्टि भयो ।

साथै टङ्गालस्थित डिजिटल फरेन्सिक ल्याबबाट अडियो÷भिडियोको ह्यास भ्यालु सुरक्षित भेटियो भने नेपाल प्रहरीको ब्युरोले गरेको भ्वाइस टेस्टमा उनीहरूको स्वर शतप्रतिशत म्याच भयो ।

अनुसन्धान अधिकृतहरू रामकृष्ण देवकोटा, देव सिंह भण्डारी र विनिता दाहालको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा अख्तियारले कर अधिकृत युवराज एम.एस. पाल र सीए रामरिझन यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम ५ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ । 

Share News