सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइनबाट कर्पोरेट खाता खोल्ने सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।

नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै कर्पोरेट खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन् ।

ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियामा हुने झन्झट कम गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरेर खाता खोल्ने प्रक्रिया अघि बढाउन सकिनेछ ।

तर, खाता सक्रिय गर्न आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफ्नो नजिकको बैंक शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

बैंकका अनुसार नयाँ सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्न थप सहजता प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग पुग्नेछ ।

यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

Share News