काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले पार्टीभित्र बनेका अत्यधिक ठूला ‘जम्बो’ समिति प्रति असन्तुष्टि जनाएकी छन् ।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउन नसक्ने बताएकी हुन् ।
उनले दर्जनौँ पार्टी मिलाएर ठूलो समिति भएको नेपाली कम्युनिस्ट पार्टी बनाउँदा पनि निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको बताइन् । मंसिरमा हुने महाधिवेशनबाट चुस्त–दुरुस्त कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
पार्टीका समितिहरू अत्यधिक ठूला बन्दै जाँदा सदस्यबीच प्रभावकारी संवाद हुन नसकेको उनले बताइन् । केन्द्रीय समितिसहित तल्ला तहका समितिमा सदस्य संख्या बढाउँदै लैजाने प्रवृत्तिले कम्युनिस्ट पार्टीको संगठनात्मक चरित्र नै कमजोर बनेको उनको दाबी छ ।
उनले कम्युनिस्ट पार्टीका संगठनहरू चुस्त–दुरुस्त हुनुपर्ने बताइन् । साथै, पछिल्लो समय पार्टी नेताहरूमा पदको मोह बढ्दै गएको आरोप पनि लगाइन् । पदप्राप्ति र पदमोहका कारण कम्युनिस्ट आन्दोलन विघटनउन्मुख अवस्थामा पुगेको उनको भनाइ छ ।
महाधिवेशनका लागि आवश्यक सांगठनिक एकता पार्टी सदस्यसम्म पुर्याउने, पार्टी सदस्यता नवीकरण गर्ने लगायतका काममा पनि ढिलाइ भएको उनले बताइन् ।
भुसालले भनिन्, 'राष्ट्रिय स्वाधीनताको पक्षमा नेपाली जनताले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसको दस्ताबेज संविधानको रक्षा गर्दै रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाएर अगाडि बढाउनुपर्छ। सिंगो वाम आन्दोलनलाई केन्द्रित गर्ने कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्छ। छरिएर रहेका देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नुपर्छ ।'
उनले एकताका नाममा बनेको भद्दा संगठनमा जनवादको अभ्यास नै कमजोर भएको टिप्पणी गरिन् । सांगठनिक एकतालाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने र पार्टी सदस्यता नवीकरणको काम समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् ।
भुसालले पछिल्लो समय राष्ट्र नै सबैभन्दा बढी संकटमा परेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । साथै, वाम आन्दोलनलाई केन्द्रित गर्दै कम्युनिस्ट एकताको अभियान अघि बढाउनुपर्नेमा उनले जोड दिइन् ।