काठमाडौं । तीनवटा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । हिल्टन हाइड्रो इनर्जी, काबेली हाइड्रोपावर र आशुतोष इनर्जीले लाभांश प्रस्ताव गरेका हुन् ।
हिल्टन हाइड्रो इनर्जीले चुक्ता पुँजीको करसहित २० प्रतिशत, आशुतोष इनर्जीले करसहित १८.९४ प्रतिशत र काबेली हाइड्रोपावरले करसहित १६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
प्रस्तावित लाभांश पारित गर्न तीनवटै कम्पनीले भदौ २७ गते वार्षिक साधारणसभा बोलाएका छन् । आशुतोष इनर्जीको साधारणसभा होटल हिमालय, कुपन्डोल, ललितपुरमा हुनेछ । हिल्टन हाइड्रो इनर्जी र काबेली हाइड्रोपावरले भने काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा साधारणसभा बोलाएका छन् ।
सभामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने, विभिन्न जलविद्युत आयोजना तथा कम्पनीमा सेयर लगानी गर्ने र बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि पेस गरिनेछ ।
त्यस्तै, सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।