काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि ल्याएको नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका उपभोक्ता तथा व्यवसायीलाई वित्तीय सेवामा जोड्न थप सहज वातावरण निर्माण गर्ने एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले २०८३ साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०८३’ को एसोसिएसनले स्वागत गरेको हो ।
नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीहरूले नेपालको वित्तीय क्षेत्रमा निर्वाह गर्दै आएको भूमिकालाई यथोचित पहिचान गर्नुका साथै कम्पनीहरूको संस्थागत स्थायित्व र दीर्घकालीन लगानीको वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने एसोसिएसनको विश्वास छ ।
नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीहरूले आफ्ना ग्राहकसँग १ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
यसले कम्पनीहरूको वित्तीय स्थायित्वमा सहयोग पुग्ने तथा स्प्रेडसम्बन्धी समस्यालाई समेत सम्बोधन गर्ने एसोसिएशनले जनाएको छ ।
साथै कम्पनीको दीर्घकालीन नवीकरण अवधि १० वर्ष कायम गर्ने व्यवस्थाले संस्थागत स्थायित्व बढाउने अपेक्षा गरिएको छ ।
हाल नेपाल राष्ट्र बैंकबाट अनुमति लिएर १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा छन् ।
ती कम्पनीहरूले मोबाइल फोन, होम अप्लायन्स, विद्युतीय उपकरणदेखि मोटरसाइकल, रिकन्डिसनमा उपलब्ध सवारीसाधन तथा हेभी इक्विपमेन्ट खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएका छन् ।
एसोसिएसनका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार हायर पर्चेज कम्पनीको मूल उद्देश्य नै बैंक तथा अन्य वित्तीय संस्थाबाट सहज रूपमा कर्जा प्राप्त गर्न नसक्ने उपभोक्तालाई वित्तीय पहुँचमा ल्याउनु हो ।
‘सवारीसाधन, मोटरसाइकल वा हेभी इक्विपमेन्ट जस्ता साधनमा लगानी गर्न बैंकबाट सहजै कर्जा पाउने अवस्था थिएन। सहकारीबाट कर्जा पाए पनि प्रक्रिया सहज थिएन,’ अग्रवालले भने ‘त्यही अवस्थालाई सम्बोधन गर्न सरकारले हायर पर्चेज कम्पनीका लागि नियमावली ल्याएको थियो ।’
पछिल्लो समय हायर पर्चेज कम्पनीको सेवा सवारीसाधन र हेभी इक्विपमेन्टमा मात्रै सीमित छैन ।
१० हजार रुपैयाँसम्म मूल्य पर्ने इलेक्ट्रोनिक सामानदेखि वासिङ मेसिनसम्म खरिदका लागि समेत कम्पनीहरूले कर्जा उपलब्ध गराउँदै आएका छन् ।
बैंकबाट कर्जा लिन सहज वातावरण नभएका उपभोक्ताका लागि यस्तो सेवा उपयोगी बन्दै गएको एसोसिएसनको भनाइ छ ।
हायर पर्चेज कम्पनीहरूले कमर्शियल सवारीसाधनका चालक तथा व्यवसायी, साना उद्यमी र बैंकिङ प्रणालीमा सहज पहुँच नभएका उपभोक्तालाई कर्जा उपलब्ध गराएर नयाँ उद्यम तथा रोजगारी सिर्जनामा समेत योगदान पुर्याइरहेको एसोसिएसनले जनाएको छ ।
सवारीसाधन तथा उपकरणमा लगानीमार्फत नागरिकको उत्पादकत्व र कार्यक्षमता बढाउनुका साथै व्यापार–व्यवसाय विस्तारमा पनि हायर पर्चेज क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको एसोसिएसनको ठम्याइ छ ।
त्यस्तै, राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत हायर पर्चेज कम्पनीलाई विभिन्न स्थानमा सम्पर्क कार्यालय खोल्न दिने व्यवस्था गर्नु सकारात्मक कदम रहेको एसोसिएसनले जनाएको छ ।
यसबाट बैंक तथा वित्तीय संस्थाको पहुँच कम रहेका दूरदराजका क्षेत्रमा समेत हायर पर्चेज सेवा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हायर पर्चेज कम्पनीहरू पछिल्लो १२ वर्षदेखि नेपाल राष्ट्र बैंकको नियमनमा रहेर सञ्चालन हुँदै आएका छन् ।
पुरानो निर्देशिकामा रहेका व्यावहारिक समस्या समाधान गर्न नियामक निकायले कम्पनीहरूलाई संगठित भएर आफ्ना विषय उठाउन सुझाव दिएपछि एसोसिएसन गठन भएको हो ।
यद्यपि, कर्जा असुली प्रक्रियासँग सम्बन्धित केही विषय अझै स्पष्ट र व्यावहारिक बन्न नसकेको एसोसिएशनले जनाएको छ ।
विशेषगरी गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा लिलामी गरिएका सवारीसाधन दर्ता गर्ने व्यवस्था नरहेको भन्दै त्यसको समाधान खोज्नुपर्ने माग गरिएको छ ।
त्यस्तै, वित्तीय क्षेत्रका विज्ञहरू संलग्न रहेको ऋण असुली न्यायाधिकरणको सेवा हायर पर्चेज कम्पनीहरूले पनि उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने एसोसिएसनको माग छ ।
समग्रमा राष्ट्र बैंकको नयाँ व्यवस्थाले हायर पर्चेज कम्पनीलाई थप व्यवस्थित, दिगो र सेवामुखी ढंगले अघि बढ्न प्रोत्साहन गर्ने एसोसिएसनको निष्कर्ष छ ।
आगामी दिनमा नेपाली उपभोक्ताको वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना तथा समग्र अर्थतन्त्रको विस्तारमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत एसोसिएसनले व्यक्त गरेको छ ।