काठमाडौं । आलु धेरैको दैनिक खानाको महत्त्वपूर्ण हिस्सा हो । तर आलु खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने धारणा पनि व्यापक छ । विज्ञ तथा विभिन्न अध्ययनले भने आलु आफैमा समस्या नभई यसलाई पकाउने र खाने तरिकाले स्वास्थ्यमा फरक पार्ने देखाएका छन् ।
हार्वर्ड हेल्थमा प्रकाशित एक रिपोर्टअनुसार आलुलाई सन्तुलित मात्रामा, सही तरिकाले पकाएर खाँदा स्वास्थ्यका लागि फाइदा पुग्न सक्छ । विशेषगरी जैतुन, सूर्यमुखी र भटमासबाट बनेका असन्तृप्त वनस्पति तेलमा पकाइएको आलु तथा बोक्रासहित पकाइएको वा उसिनेको आलु तुलनात्मक रूपमा स्वस्थकर मानिन्छ ।
आलुमा पोटासियम र फाइबरजस्ता पोषक तत्त्व पाइन्छन् । त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर आलुको सेवन गर्न सकिन्छ ।
अमेरिकी कृषि विभागका अनुसार नुन नहाली बोक्रासहित उसिनेको १०० ग्राम आलुमा करिब ८७ क्यालोरी, ७७ प्रतिशत पानी, १.९ ग्राम प्रोटिन, २०.१ ग्राम कार्बोहाइड्रेट, ०.९ ग्राम चिनी, १.८ ग्राम फाइबर र ०.१ ग्राम बोसो हुन्छ ।
‘द जर्नल अफ न्युट्रिसन’मा प्रकाशित अध्ययनमा ७७ हजार २९७ वयस्कको खानपान र स्वास्थ्य अवस्थालाई औसत ३३.५ वर्षसम्म अध्ययन गरिएको थियो ।
अध्ययनले सन्तुलित मात्रामा विशेषगरी बोक्रासहित र नतारेको आलु सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । दैनिक १०० ग्राम वा सोभन्दा कम आलु सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी समस्या, मधुमेह तथा मोटोपनाको जोखिम केही कम देखिएको अध्ययनमा उल्लेख छ ।
तर आलुलाई ‘सुपरफुड’ भने मान्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । आलुबाट स्वास्थ्यमा समस्या हुनेभन्दा पनि धेरै तेलमा तारेको फ्राइज, चिप्स तथा डिप फ्राइड आलुको नियमित सेवन स्वास्थ्यका लागि बढी जोखिमपूर्ण हुन सक्छ ।
कसरी खाने आलु ?
स्वास्थ्यलाई ध्यानमा राख्दै आलुलाई उसिनेर, बेक गरेर वा कम तेलमा पकाएर खान सकिन्छ । बोक्रासहित पकाउँदा फाइबरलगायत केही पोषक तत्त्व प्राप्त गर्न सकिन्छ ।
उसिनेको आलुलाई सलाद, सादा दही तथा अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । त्यसैगरी, बेक गरिएको आलुलाई सिमी, एभोकाडो तथा अन्य पौष्टिक खाद्य पदार्थसँग मिलाएर पनि खान सकिन्छ ।
आलु पोषक तत्वयुक्त खाद्य पदार्थ भए पनि यसको सेवन सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । विशेषगरी मधुमेह वा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले आफ्नो खानपानबारे चिकित्सक वा पोषणविद्सँग परामर्श गर्नु उपयुक्त हुन्छ ।