मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा दुई धार

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद थप चर्किएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् ।

राप्रपा प्रदेश प्रमुख सचेतक कुमारी तामाङले आइतबार आफ्ना सांसदलाई मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन् । मतदानमा सहभागी हुन नसक्ने अवस्थामा तटस्थ बस्न वा प्रदेशसभा बैठकमा अनुपस्थित हुनसमेत उनको निर्देशन थियो ।

तर, त्यसको विपरीत डम्बर तामाङले पनि प्रमुख सचेतककै हैसियतमा अर्को ह्वीप जारी गर्दै प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन निर्देशन दिएका छन् । उनले आफ्नो पत्रमा भदौ ७ गतेको बैठकको निर्णय, दलका नेताको आदेश तथा राप्रपा संसदीय दलको विधानअनुसार उक्त निर्देशन दिइएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री थापाले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मतको पूर्वसन्ध्यामा राप्रपाबाट जारी भएका दुई फरक ह्वीपले प्रदेशसभामा पार्टीको औपचारिक धारणा र सांसदहरूको मतदानबारे अन्योल बढाएको छ ।

यसअघि पार्टीको निर्णयविपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र मुख्यमन्त्रीलाई समर्थन गरेको आरोपमा राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउने तथा पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको थियो ।

बागमती प्रदेशसभामा राप्रपाका तीन सांसद पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएर मन्त्री बनेका छन् । उनीहरूको भूमिकालाई लिएर पार्टीभित्र देखिएको मतभेद अहिले मुख्यमन्त्रीको विश्वासको मतसम्म आइपुग्दा थप सतहमा आएको हो ।

Share News