काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।
बैंकका अनुसार व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जाको सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो ।
यस योजनामार्फत व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।
एनआईएमबीले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ ।
बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।