काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान कपिल देवले सोमबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानलाई राम्रो उपचार र आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
कपिल देवले पाकिस्तानको कानुनबारे आफू कुनै टिप्पणी गर्न नचाहेको बताए ।
तर, जेलमा रहेका इमरान खानसँग मानवीय व्यवहार गरिनुपर्ने उनले अपिल गरेका छन् ।
उनले भने, ‘हामीलाई त्यस देशको कानुनबारे थाहा छैन । तर, जोसुकै भए पनि प्रत्येक कैदीसँग मानवीय व्यवहार गरिनुपर्छ र आवश्यक सुविधा उपलब्ध गराइनुपर्छ । उनी देशका पूर्वप्रधानमन्त्री र विश्वका महान् क्रिकेटरमध्ये एक हुन् ।’
इमरान खानबारे बोल्दै कपिल देवले आफूले सँगै खेलेका र क्रिकेट कौशलको प्रशंसा गरेका साथीको समर्थन गर्ने बताए ।
उनले भने, ‘हामी केवल उनलाई उत्कृष्ट उपचार र आवश्यक सुविधा उपलब्ध गराइएको हेर्न चाहन्छौं । हामीले मागेको यत्ति हो । हामी अरू केही मागिरहेका छैनौं न त कुनै जवाफ नै खोजिरहेका छौं । हामी केवल अपिल गरिरहेका छौं ।’
यसैबीच कपिल देवसहित क्रिकेट जगत्का २१ जना पूर्वकप्तानले हालै पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर प्रधानमन्त्री शहबाज सरिफलाई पत्रसमेत लेखेका थिए ।