चालु आर्थिक वर्षको १० महिनामा २८ अर्ब ७७ करोडको सुन–चाँदी आयात भएको छ । सो आयात भएको सुन–चाँदीमध्ये २१ अर्ब १५ करोड ८७ लाखको सुन हो भने ७ अर्ब ६२ करोड ११ लाखको चाँदी हो । गएको वर्षको साउनदेखि वैशाखसम्म करिब २२ अर्ब रुपैयाँ मूल्य बराबरको सुनचाँदी आयात भएको थियो ।
साथै २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण आर्थिक क्षेत्र शिथिल बन्नाले सुनचाँदीको व्यापार खासै फस्टाउन सकेको थिएन । त्यसपछि भएको सीमा नाका बन्दले आर्थिक संकुचन ल्याउनाले त्यसको असर सुनचाँदी बजारमा पनि देखिएको थियो ।
यी र यस्तै कारणले गएको वर्षको वैशाखसम्म जम्मा १५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँमात्रको सुन आयात भएको थियो भने ६ अर्ब २५ करोड ८६ लाखको चाँदी आयात भएको थियो ।
गएको वर्ष १० महिनाको तुलनामा चालु आवको यस अवधिमा भएको सुन आयात ५ अर्ब ४६ करोड २० लाखले बढी हो ।गएको वर्षको अन्त्यसम्म १६ अर्ब सात करोड ९५ लाखको सुन र ७ अर्ब १२ करोड २१ लाखको चाँदी आयात भएको थियो । अर्थतन्त्रमा आएको सुधार तथा राजनीतिक स्थिरताको कारणले पनि गएको वर्षको भन्दा बढी सुन आयात भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए । साथै यस वर्ष सरकारले मंसिरदेखि फागुनमसान्तसम्मको चार महिनाको अवधिमा २५ किलो र अन्य समयमा २० किलो सुन आयात गर्न पाउने कोटा निर्धारण गरेपछि पनि सुनको आयात बढेको हो । सुनको कोटा बढ्दा बजार सहज बनेको छ भने उपभोक्ताले सुन खरिद गर्दा बजार मूल्यभन्दा बढी रकम खर्चनु परेको छैन ।
चुनावी कारण सुन बजार सुस्तायो
वैशाख ३१ को स्थानीय तहको निर्वाचन हुनुभन्दा दुई साता अघि देखि सुस्ताउन थालेको सुन बजार अहिलेसम्म साधारण अवस्थामा फर्कन नसकेको महासंघले बताएको छ । वैशाखदेखि साउनसम्मको अवधि सुन बजार अन्य समयमा यसरी नै सुस्त गतिमा अघि बढेपनि यो वर्ष चुनावी असर अझ देखिएको छ । साउनसम्म बजार यसरी नै सुस्त गतिमा अघि बढ्ने शाक्यको भनाइ । ‘अहिले सरकारी कोटाबाट आएकै सुनले बजार धानेका छ,’ उहाँले भन्नु भयो ‘बजारमा पुराना सुन आउने क्रम पनि जारी छ ।’ सो कारण अहिले बजारमा सुनको अभाव छैन, उपभोक्ताले चाहेको जति सुन सहजै बजार मूल्यमा खरिद गर्न सक्ने शाक्यले बताए । केही समय अघिसम्म बजारम सुन अभाव हुँदा उपभोक्ता आफूलाई आवश्यकता पर्दा तोलामै तीन/चार हजार रुपैयाँसम्म बढी सुन किन्न वाध्य हुन्थे । तर, दैनिक २० किलो सुन आयात हुन थालेपछि सुन नपाउने समस्या भने समाधान भएको छ ।