काठमाडौं । राजधानीमा भदौं १३ गतेदेखि १२ औं नाडा अटो शोको आयोजना हुँदैछ । दुई पाँग्रे, चार पाँग्रे, निजी, सार्वजनिक र व्यापारिक सवारीसाधनको कुम्भ मेलाका रुपमा अटो शोलाई लिने गरिन्छ ।

अटो शोको मुखैमा नेपाल राष्ट बैंकले अटो लोनको सिमा १५ प्रतिशतले बढाएर ६५ प्रतिशत पुर्याएपछि व्यवसायी पनि उत्साहित भएका छन् । सवारी साधनको माग बढेसँगै यसले सिंगो अर्थतन्त्रमा ठुलै योगदान दिईरहेको स्पष्ट देखिन्छ । सवारी साधनकै बिभिन्न शिर्षक अन्तर्गत गत वर्ष सरकारलाई कुल राजश्व संकलनको १५ प्रतिशत योगदान गरेको छ ।
सरकारले गत आर्थिक वर्षमा सवारी साधन आयात तथा दर्ताबाट मात्रै करिब ९३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको हो । गत बर्ष सरकारले ५ खर्ब ८५ अर्ब ९४ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य लिएकोमा ८ प्रतिशत बढेर ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो ।
जसमा सवारी साधनकै बिभिन्न आयामबाट मात्रै ९३ अर्ब रुपैयाँको योगदान पुगेको हो । चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ८ करोड ५१ लाख ४ हजार सवारी साधन र त्यसका पाटपुर्जा आयात भएको थियो । जसबाट ७२ अर्ब ५४ करोड रुपैयाँ भन्सार शुल्क संकलन भएको छ ।
नाडा अटोमोवाइल डिलर्स एसोसियसन (नाडा) का अध्यक्ष अन्जन श्रेष्ठ मध्यम वर्गले पनि साना सवारी साधन खरिद गर्दा अटोमोवाइलको बजार विस्तार भइरहेको बताउछन् । उनले नाडा अटो शोले यो वर्ष अटोमोवाइलको व्यवसाय अझ बढाउने विश्वास व्यक्त गरेका छन् ।
विभागका सूचना अधिकारी कुलराज ज्ञवालीका अनुसार वार्षिक रुपमा सवारी साधनमा बढ्दै गएका कारण सरकारको राजश्व बढेको हो । उनले भने, ’गत वर्ष राष्ट्र बैंकले अटो लोनमा कडाई गर्दा केही गाडीहरु आउन सकेका थिएनन् । तर गाडीको उच्च मागका कारण राजश्व बढेको हो ।’
त्यस्तै सवारी दर्तादेखि कार्बाहीसम्मको जिम्मेवारी पाएको यातायात व्यवस्था विभागले करिब २० अर्ब ३२ करोड २९ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । विभागका अनुसार गत वर्ष ४ लाख ४४ हजार २६९ सवारी साधन दर्ता भएका छन् । विभागको कार्बाहीमा ४१८ वटा सवारी साधन परेका छन् । यसबाट सरकारले करिब ११ लाख ८० हजार रुपैयाँ उठेको छ ।
पाँच वर्षमा यातायातको राजश्व १६३ प्रतिशतले बढेको छ । पाँच वर्ष अगाडी ७ अर्ब ७१ करोड रुपैयाँ राजश्व संकलन गरेको यातायात व्यवस्था विभागले आर्थिक वर्ष २०७३र७४ मा करिब २० अर्ब ३२ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । संकलन गरेको राजश्वमध्ये पनि सवारी करबाट मात्रै करिब ८ अर्ब ८० करोड रुपैयाँ संकलन भएको छ । गत वर्ष यातायात क्षेत्रको आम्दानी मात्र ५६ करोड ८४ लाख रुपैयाँ थियो ।