मूल्य बढ्दा पनि सिमेन्ट र डण्डीको अभाव कायमै, उद्योगीले किन रोके आपूर्ति ?

<p>काठमाडौं । अहिले बजारमा सिमेन्ट र डण्डीको भाउ अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य बढेको भन्दै निर्माण सामाग्री उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट, डण्डी लगायतको भाउ ह्वात्तै बढाएको हो । मूल्य बढाउँदा पनि सिमेन्ट र रड लगायत निर्माण सामाग्रीको चरम अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन् । कति बढ्यो भाउ ? निर्माण व्यवसायीहरुका [&hellip;]</p>

काठमाडौं । अहिले बजारमा सिमेन्ट र डण्डीको भाउ अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य बढेको भन्दै निर्माण सामाग्री उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट, डण्डी लगायतको भाउ ह्वात्तै बढाएको हो । मूल्य बढाउँदा पनि सिमेन्ट र रड लगायत निर्माण सामाग्रीको चरम अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन् ।

कति बढ्यो भाउ ?

निर्माण व्यवसायीहरुका अनुसार अहिले २ सय रुपैयाँसम्म प्रतिबोरा सिमेन्टको मुल्य बढेकोे छ । त्यस्तै प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म डण्डीको भाउ बढेको छ । बजारमा सिमेन्ट र डण्डीको भाउ बढेतापनि अहिलेको जस्तो निर्माण कार्यको महत्वपूर्ण सिजनमा निर्माण सामाग्रीको अभावको मार खाइरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

किन रोकियो आपूर्ति ?

महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले पछिल्लो समय पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढेको मौका छोपेर सिमेन्ट उद्योगी तथा डण्डी व्यवसयीहरुले सिमेन्ट/डन्डी लगायत निर्माण सामाग्रीहरुको भाउ बढाएको आरोप लगाएका छन् । ‘अन्तर्राष्ट्रि बजारमा सिमेन्ट लगायतको कच्चा पदार्थको मूल्य बढेको छैन,’ उनले भने ‘भारतमा थोरै पेट्रोल र डिजेलको मूल्य बढेको छ । त्यसले खासै असर गर्दैन ।’ किनभने नेपालमै सिमेन्टको कच्चा पदार्थ करिब ७५ प्रतिशत उत्पादन हुनेगरेको उनको भनाइ छ ।

उनका अनुसार अहिले सिमेन्टमा ११५ रुपैयाँ भने डण्डीमा प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म बढेको छ । ‘साथै अहिले बजारमा ती सामाग्रीहरुको चरम अभाव छ,’ उनले थपे ‘निर्माण कार्यको लागि आवश्यक पर्ने ३० प्रतिशत मात्र सिमेन्ट र रड उपलब्ध छ ।’ ७० प्रतिशत अभाव रहेको उनले बताए । अहिले निर्माण कार्यको पिक आवरमा मौका छोपी उद्योगीहरुले कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको महासंघका अध्यक्ष श्रेष्ठले आरोप लगाए । बढेको मूल्य कायम रहने र यस्तै अभाव हुने हो भने समयमा निर्माण कार्यसम्पन्न नहुने उनको चेतावनी छ ।

त्यस्तै विकोइ विल्डर्स प्रालीका प्रबन्धक निर्देशक हुमनाथ कोइरालाले बजारमा मूल्य वृद्धि भएपनि सिमेन्ट, दण्डी जस्ता अत्यावश्यक निर्माण सामाग्री पाउन नसकेको दुखेसो गरे । ‘सिमेन्ट पूसयता मात्रै बोराको २ सय रुपैयाँसम्म बढेको छ । ढुवानीमा समेत बोरामा(हेटौंडा-काठमाडौं) ५० रुपैयाँ बढेको छ,’ उनले भने ‘त्यतिका मूल्य बढ्दा समेत सामान पाइएको छैन ।’ उनले मूल्य बढेसँगै निर्माण कार्यको लागत पनि करिब १५ प्रतिशत बढ्ने जनाए । काठमाडौं भ्यु टावर निर्माण गरिहेका सञ्चालक भैरव भेटवालले पनि केही हप्ता अघिसम्म दैनिक ५ गाडी सिमेन्ट आउने गरेकोमा अहिले मुस्किलले २ गाडी ल्याइएको बताए ।

सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थ बढेकोले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘पहिले ७५ डलर पर्ने कच्चा पदार्थ अहिले ११५ डलर पुगेको छ,’ उनले भने ‘साथै ढुवानी भाडा पनि बढेको छ ।’ त्यस्तै उनले अघोषित रुपमा घन्टौै लोडसेडीङ हुने गरेको उद्योगहरुमा घोषित रुपमा ६ घन्टा लोडसेडिङ भइरहेकोले उद्योगहरुको लागत बढेकोले सिमेन्टको मूल्यमा असर परेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष वर्खा र हिउदमा सिमेन्टको मूल्य १०० रुपयाँ घटबढ हुने गर्छ । वर्खामा करिब सय रुपैयाँ कम हुन्छ भने हिउँदा सय रुपैयाँ मूल्य बढ्ने गरेको छ ।

सरकारी स्वामित्वका उद्योगहरुले समेत सिमेन्टको भाउ बढाएको छ । ‘दुई हप्ता अघिदेखि विरगन्जमा क्लिङकर आउन बन्द भएको छ,’ उनले भने ‘ क्लिङकर नआउने हो भने विरगन्ज क्षेत्रका सबै सिमेन्ट उद्योगहरु बन्द हुनेछ ।’

Share News