काठमाडौं । बैंकिङ प्रणालीमा तरलता कम भएपछि नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो ।
बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो ।
यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइन्दैन् । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।
चालु आर्थिक वर्षको ६ महिनामा प्रकाशित बैंकको वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात ७९ प्रतिशत हारहारीमा पुगेको छ । अधिकाँश बैंकको सीसीडी रेसियो कसिलो भएको छ । केही बैंकले कर्जा दिन बन्द गरेका छन् । बैंकले लगानीको तुलनामा निक्षेप बढाउन सकेका छैनन् ।
यस्तै अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हारहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्रीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ ।