काठमाडौं । सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापकले धमाधम सेयर बिक्री गरेर बाहिरिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा लगातार ३ सातादेखि सानिमामाईको सेयर बढी कारोबार हुदै आएको छ । कम्पनीका संस्थापकले बाहिरिन धमाधम सेयर बिक्री गरेपछि सबैभन्दा बढी सेयर कारोबार भएको हो ।
बिहीबार सानिमामाईको प्रतिकित्ता ४२४ रुपैयाँमा ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएको छ । बिहीबार १ करोड ८१ लाख ३८ हजार रुपैयाँ सेयर किनबेच भएको छ । कारोबार सुरु भएको ३ वर्षपछि जलविद्युत कम्पनीको संस्थापक सेयर पनि साधारण हुने भएपछि बढी सेयर हुनेले बेचेर बाहिरिन लागेका हुन् ।
१ सय रुपैयाँको सेयर ४ सय रुपैयाँ बढी पाएपछि बिक्री गर्नु स्वभाविक भएको एक लगानीकर्ताले बताए । पछि राम्रो मूल्य नपाउने अनुमानका आधार अन्य क्षेत्रमा लगानी गर्न संस्थापकहरुले धमाधम सेयर बिक्री गरिरहेको उनको भनाई छ । “अहिले संस्थापकले धमाधम सेयर बेचेर बाहिरिरहेका छन् ।”ती लगानीकर्ताले भने
सेयर किनबेच बढेपछि सानिमामाईको सेयर मूल्य निरन्तर घट्दै गएको छ । सेयर मूल्य घट्दै गएपनि दुई सातादेखि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सबैभन्दा बढी सेयर कारोबार सानिमामाईको नै भइरहेको छ । गत मंगलबार सेयर प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार भएको थियो ।
गत वर्षको चैतको दोस्रो साता सानिमाको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २३९ रुपैयाँ पुगेको थियो । मूल्य समायोजन भएपछि १ हजार १०५ बाट ६१५ मा झरेको थियो । मूल्य समायोजनपछि लगानीकर्ताले झण्डै २ सय रुपैयाँ गुमाएका छन् ।गत पुस १८ गते प्रतिकित्ता ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत वर्ष गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरी जलविद्युत आयोजनामा लगानी गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । कम्पनीले गत आवमा २९ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।
गत आवमा गरेको नाफाबाट लगानीकर्ताले ५ प्रतिशत मात्र लाभांश पाउने अवस्था आएपछि कम्पनीले १४ मेगावाटको मैलुङखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । आयोजना गैरआवासिय नेपाली समूहको सानिमाले प्रवद्र्धन गरेको हो ।