काठमाडौं । शनिवार ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छन् ।
चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ग्लोबल आर्ईएमई बैंकले भन्दा एभरेष्ट बैंकको वित्तीय परिसूचकको वृद्धिदर उच्च देखिएको छ । तर २०५१ सालमा स्थापना भएको एभरेष्ट बैंकलाई २०६४ सालमा स्थापना भएको ग्लोबल आईएमई बैंकले धेरै परिसूचिकमा पछाडि पारेको छ ।

ग्लोबल आईएमईको खुद नाफा ९५ करोड ४२ लाख रुपैयाँ छ भने एभरेष्ट बैंकको १ अर्ब १४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षभन्दा यस वर्ष ग्लोबलले ५ करोड नाफा बढाएको छ भने १७ करोड रुपैयाँले बढाएको छ ।
२०७३ पुस मसान्तसम्ममा ग्लोबल आईएमई बैंकको निक्षेप ८४ अर्ब थियो भने यस वर्ष १६ अर्ब वृद्धि गरी १०० अर्ब बनाएको छ । तर असोज मसान्तको तुलनामा यस बैंकको निक्षेप ४ करोड रुपैयाँ घटेको छ ।
एभरेष्ट बैंकको निक्षेप २०७३ पुस मसान्तमा ९० अर्ब थियो भने २०७४ पुस मसान्तसम्ममा १३ अर्ब थपेर १०३ अर्ब बनाएको छ ।
ग्लोबल आईएमईले ८८ अर्ब कर्जा प्रवाह गरेको छ भने करिव २० अर्ब रुपैयाँ लगानी गरेको छ । एभरेष्ट बैंकले ८५ अर्ब कर्जा प्रवाह गरी १५ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्जा र लगानी दुबैमा एभरेष्टलाई ग्लोबल आईएमईले पछाडि पारेको छ ।
ग्लोबल आईएमई बैंकको क्यापिटल एडेक्वसी ११.६५, खराव कर्जा १.६१ , सीसीडी रेसियो ७७.७ र बेसरेट १०.३१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको क्यापिटल एडेक्वसी १५.६८, खराव कर्जा ०.२५, सीसीडी रेसियो ७५.८४ र बेसरेट ७.७४ प्रतिशत छ ।
एभरेष्ट बैंकको पीई रेसियो ३१.९३ प्रतिशत छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको पीई रेसियो १४.६९ छ भने प्रतिसेयर आम्दानी २१.४४ रुपैयाँ छ ।
गत विहीबार एभरेष्ट बैंकको सेयर मूल्य ८६७ रुपैयाँ छ भने ग्लोबल आईएमई बैंकको ३१४ रुपैयाँ छ ।
हाल ग्लोबल आईएमई बैंकको सेयर पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ८ अर्ब रुपैयाँ छ । संचित कोषमा ग्लोबलको ३ अर्ब ४२ करोड रुपैयाँ छ भने एभरेष्ट बैंकको ५ अर्ब १९ करोड रुपैयाँ छ ।
प्रकाशित वित्तीय विवरण र बजारको सेयर मूल्यका आधारमा यतिबेला एभरेष्ट बैंकको सेयर किन्दा भन्दा ग्लोबल आईएमईको सेयर किन्दा बढी लाभ हुने देखिएको छ । क्यापिटल एडेक्वसीको आधारमा आगामी वर्षको लाभांशमा एभरेट बैंकले नगद लाभांश मात्र दिने सम्भावना छ भने ग्लोबल आईएमई बैंकले नगद लाभांश र बोनस सेयर दिन सक्ने देखिन्छ ।