काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पौष मसान्त(अर्थात दोस्रो त्रैमासिक)सम्ममा ३९ करोड ३६ लाख रुपैयाँ कमाएको छ । जुन पहिलो त्रैमासिकको तुलनामा ३८५ प्रतिशत वृद्धि हो । बैंकले पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख रुपैयाँ खूद मुनाफा गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकको दोस्रोे त्रैमासिक अवधिमा निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको बैंकले जनाएको छ ।

६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।
साथै, टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकको वित्तीय आकार र सूचकहरुमा थप सुधार हुने देखिएको छ ।