काठमाडौं । विकास साझेदार विश्व बैंकले आगामी ४ वर्षका लागि नेपाललाई दिने ऋण सहयोगको विषयमा छलफल थालेको छ । आगामी सन् २०१९ देखि ०२२ सम्म ४ वर्षका लागि नेपालका विभिन्न विकास आयोजनामा गर्न सकिने सहयोगको विषयमा विश्व बैंकले सरोकारवालासंग छलफल थालेको हो ।

सन् २०१४ देखि सुरु भएको बैंकको ५ वर्षे नेपाल सहायता रणनीति (कन्ट्रि पार्टनरसिप फ्रेमवर्क) को समय यो वर्ष सकिदै छ । आगामी वर्षदेखि रणनीति ४ वर्षकाे बनाउने भएको छ ।
आगामी वर्षदेखि नेपाललाई दिने नयाँ सहयोग रणनीति बनाउनका लागि छलफल सुरु भएको अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक समन्वय सहायता महाशाखाका उपसचिव टेकबहादुर खत्रीले बताए । उनका अनुसार आगामी वर्षदेखि सहायता रकम बढ्ने संभावना छ । अहिले छलफल चलिरहेको खत्रीको भनाई छ ।
“विश्व बैंकले जति पनि सहयोग गर्न तयार छ, तर हामीले खर्च गर्न सकेका छैनौ उनले भने । खत्रीकाअनुसार बैंकले हाल छलफल गरिरहेको छ । दाताले दिएको सहयोग खर्च हुन सकेको छैन ।
विश्व बैंकले मुलत पुर्वाधार र सामाजिक गरी ६ वटा क्षेत्रमा सहयोग गर्दै आएको छ । उसले ऊर्जा, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ । बैंकले नेपाललाई विभिन्न किसिमको विकास आयोजना सञ्चालन गर्न वार्षिक ४० करोड अमेरिकी डलर (करिव ४० अर्ब रुपैयाँ) सहयोगको प्रतिवद्धता गर्दै आएको छ । आगामी वर्षदेखि सहयोग बढाउने तयारी बैंकको रहेको छ ।

बैंकले ५ वर्षयता नेपाललाई दिँदै आएको अर्बौ रुपैयाँ अनुदान कटौती गरेको छ । बैंकले नेपाललाई सहुलियत दरमा ऋण सहयोग गर्दै आएको छ । विश्व बैंकले ऋण सहयोग गरेवापत सेवा शुल्क र प्रतिवद्धता शुल्क मात्र लिँदै आएको छ । बैंकले भूकम्पबाट भत्किएका विद्यालयलाई ठुलो रकम सहयोग गरेको छ ।
विश्व बैंकले हालसम्म भूकम्पबाट भत्केका घर बनाउन, शिक्षा क्षेत्र विकास, कावेली ए जलविद्युत आयोजना, नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना, गरिवी निवारण कोष, कावेली प्रसारणलाइन, मानव विकास र सामाजिक, सडक क्षेत्र सुधार, टेलिकम, नारायणी र महाकाली सिंचाइ जस्ता वृहत आयोजनामा सहयोग गरेको छ ।