काठमाडौं । २ बर्ष अघिसम्म विद्यार्थी नआएर सुनसान सरस्वती क्याम्पसमा यतिबेला विद्यार्थीको चाप थेगिनसक्नु छ । कुनै समय राजधानीमै कहलिएको सरस्वती क्याम्पस केहि समय पहिलो मणि बिनाको नाग जस्तै थियो । र, यतिबेला पुनः आफ्नो गुमेको शाख र पहिचान जोगाउने अभियानमा तल्लिन छ ।

भरिभराउ विद्यार्थी, उत्साहित प्राध्यापक, कर्मचारी र व्यवस्थित बन्दै गएका पुर्वाधारहरुले सरस्वती क्याम्पसको “कम ब्याक”लाई प्रष्टैसँग संकेत गरिरहेको देख्न सकिन्छ .क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. बालकृष्ण सुबेदी भन्छन्–केहि समय अगाडिसम्म क्याम्पसका कक्षा कोठाहरु खाली थिए, चौरमा झार मात्रै पलाएको थियो, प्राध्यापक र कर्मचारीहरु घाम तापेर दिन काट्थे तर आज समय बदलिएको छ, सरस्वती बहुमुखी क्याम्पस यतिबेला जुरुक्कै उठेको छ ।
अधिकांश बिषयमा विद्यार्थीको न्युन उपस्थितीले कतिपय बिषय अन्य क्याम्पसमा मर्ज गर्ने तयारी बहस पनि चलेको थियो । तर गत बर्ष क्याम्पसले बीबीएम र बीबीए विषय थप गरेपछि भने क्याम्पसमा नयाँ पहिचान नै स्थापित भएको छ । ‘बीबीएम र बीबीए थपिएपछि पुराना बिषयमा पनि विद्यार्थीको चाप बढेको छ, हामीलाई क्याम्पस सुध्रिएकोमा साह्रै खुसी छौं’, क्याम्पसका विद्यार्थी नेता शंकर गौतमले भने ।
बीबीएम र बीबीएमले क्याम्पसमा त्राण थपेको उनले स्वीकार गरे ।२ बर्षअघि करिब ६ सयमा झरेको विद्यार्थी संख्या यतिबेला १ हजार ९ सय पुगेको छ ।क्याम्पसको पुर्वाधारलाई रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटबाट प्रवेश गर्दा सरस्वति क्याम्पसले जो कोहीलाई आकर्षित गर्छ । व्यवस्थित पार्किङ, रंगरोगन गरिएका पुर्वाधार, भलिबल कोर्ट, सानो बाटिकाले सरस्वति क्याम्पसलाई हेर्न लायक बनाएको सहजै देख्न सकिन्छ ।
हाल नेपाली, अग्रेँजी, समाजशास्त्र र व्यवस्थापन गरी चारवटा विषयमा स्नातकोत्तर अध्ययन गर्न पाइने सरस्वति क्याम्पसले थप केहि बिषय ल्याउने तयारी गरिरहेको छ । ‘हामीसँग पुर्वाधार पनि पर्याप्त छ र जनशक्ति पनि यथेष्ठ मात्रामा छन, हामी नयाँ बिषयमा स्नातकोत्तर सञ्चालनको तयारी गर्दैछौं, के बिषय थप्ने भनेर छलफल भैरहेको छ’, सहायक क्याम्पस प्रमुख सुवेदीले भने ।
आकर्षण बढ्दो तर सिट सिमित
यस वर्ष बीबीएम र बीबीएमा आवेदन दिनेहरु ३०० थिए । ति मध्य ६४/६४ जनाको मात्रै मेरिट लिस्टमा नाम निस्कियो । २ लाख ९० हजार रुपैंयाँ बीबीएम र बिबिए अध्ययनको सुविधा विद्यार्थीहरुले पाईरहेका छन् । ‘सरकारी शैक्षिक संस्था भनेका गरिबका छोराछोरीले पढ्ने ठाउँ हो, हामीसँग पुर्वाधार जनशक्ति दुबै भएकाले कोटा थप्न आग्रह गरिरहेका छौं ताकी गरिबका सन्तानले पनि उच्च शिक्षा पढ्न पाउन’, सुवेदील सुनाए ।
उनले क्याम्पसमा रहेका लाइब्रेरीलाई स्तरोन्नति गर्ने काम पनि अघि बढाईसकेको जानकारी दिए । विद्यार्थीहरुले सन्दर्भ पुस्तकहरुको अध्ययनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने उनको उद्घोष छ ।
सरकारी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुको चाप घटिरहेको समयमा सरस्वति क्याम्पसले पनि पुनः कम ब्याक गरेको देख्न सकिन्छ । यसले अन्य क्याम्पसहरुलाई समेत सुधारको बाटोमा अघि बढ्न अभिप्रेरित गर्दछ ।