काठमाडौं । धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) लाई नियमावली तथा निर्देशिकामा भएको व्यवस्थाअनुसार थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न अनुमती दिएको स्पष्ट पारेको छ ।
धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थाबमोजिम सूचिकृत संगठित संस्थाले पुँजी बृद्धि गर्नु परेमा हकप्रद सेयर वा एफपीओ निष्कासन गर्न सक्ने व्यवस्था रहेको बोर्डले जानकारी दिएको छ ।
बीपीसीले सरकारको स्वामित्वमा रहेको सेयर अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धकमार्फत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी नेप्सेमा सूचीकृत गराई कारोबार भएकाे बोर्डका प्रवत्ता निरज गिरीले बताए ।
बीपीसीले प्रबद्र्धन गरेको आयोजनाका लागि आवश्यक पूँजी निर्माण र परिचालन गर्न साधारणसभाबाट निर्णय गराई एफपीओका लागि अनुमति माग गरेकोमा नियमावली तथा निर्देशिकाको व्यवस्थाअनुसार निष्कासन गर्न अनुमति दिएको उनले स्पष्ट पारे । बीपीसीको एफपीओको बारेमा बजारमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि बोर्डले स्पष्ट पारेको हो ।
बीपीसीको चुक्तापूँजीको ७५ प्रतिशत शेयर निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई ०५९ माघ १५ मा बिक्री गरी हस्तान्तरण गरेको र त्यसपछि ०६० असोज ६ मा सरकारले थप १२ प्रतिशत शेयर सर्वसाधारण तथा कर्मचारीलाई नागरिक लगानी कोषको प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्कासन गरेको पाइएको गिरीको भनाई छ ।
निष्कासन भएका सेयरहरु नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा ०६१ पुस २८ मा सूचीकरण भई हाल दोश्रो बजारमा कारोवार भइरहेको बोर्डको भनाई छ । सोहीबमोजिम कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको प्रतिनिधित्व समेत रहेको जानकारी दिएको छ ।
यस प्रकारको सार्वजनिक निष्कासनमार्फत नेपाल टेलिकमले समेत सरकारको स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्र बजारमा सूचीकृत भएर दोश्रो बजारमा कारोबार समेत भईरहेको उनले बताए ।
एफपीओको मूल्य निर्धारण सम्बन्धमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएका मापदण्ड र पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र बोर्डमा निवेदन दिनुभन्दा ७ दिन अगाडिको १८० दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औसत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको ४ गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई एफपीओको मूल्य कायम गरेको बोर्डले जनाएको छ ।
बीपीसीले ३७.५ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण गर्न साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेकाे छ ।
एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने भएका छन् ।