काठमाडौं । नविल बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिलकेशरी शाहलाई नियुक्त गरेको छ ।बिहीबार बसेको बैंक सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।

गत पुस १३ गते बैंक सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । तर राष्ट्र बैंकले सोही दिन परिपत्र गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एउटा बैंक छोडेर अर्को बैंकमा नियुक्ती पाउन कम्तिमा ६ महिना कुर्नु पर्ने निर्देशन दिएपछि नविलमा सीईओ बन्न शाहलाई समस्या भएको थियो ।
पुस १५ गते बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा शाहलाई नियुक्त गर्ने पुरानो निर्णय रद्द गरेको थियो । तीन दिनपछि पुन बैंठक बसी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।
शाहलाई बैंकले आगामी साउनमा प्रमुख कार्यकारी नियुक्त गर्ने पक्का भएको छ । ‘बैंकमा दक्ष मान्छेको अभाव छ । शाह नविल बैंकको सीईओ भएर राम्रो काम गरेको व्यक्ति हो । उहाँको क्षमतामा शंका छैन । विधि प्रक्रिया मिलाएर उहाँलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने विषयमा बैंकमा एक मत भएर नै डेपुटी सीईओ नियुक्त गरिएको हो’ बैंकका एक सञ्चालकले भने ।
डेपुटी सीईओलाई नै कामु सीईओको जिम्मेवारी दिएर बैंक चलाउने योजना बैंकको रहेको छ । हाललाई शाह डेपुटी सीईओ भए पनि ६ महिनापछि सीईओ हुने भएका छन् ।