काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ लिमिटेड खारेजी हुदै गर्दा भारतको कोलकोतामा उसको नाममा रहेको करोडौं मूल्यको जग्गा गुम्ने भएको छ । भारतमा जग्गा भाडामा लिएवापत नेसनलले मोहियानी हक पाउँछ । कम्पनीनै खारेज भएपछि मोहियानी हकवापत पाउने करोडौ मूल्य पर्ने जग्गा गुमाउने अवस्था आएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

कोलकोताको सरकारी अड्डाहरु रहेको सो स्थानमा वि.सं. २०२६ सालमा ट्रेडिङले आफ्नो शाखा खोलेर हालसम्म सोही शाखामार्फत ट्रेडिङले भारतसँगको व्यापारअघि बढाउदै आएको आपूर्ति मन्त्रालयको उपसचिव लवराज जोशीले बताए । उनका अनुसार जग्गा भोगचलन गरेवापत नेसनलले मोहियानी हक वापत जग्गा पाउने छ ।
पश्चिम बंगालको कानुन अनुसार कुनै पनि एकै स्वामित्वको व्यक्ति वा सस्था एकै स्थानमा १० बर्षभन्दाबढी बसे मोहियानी हक लाग्छ । जसअनुसार ट्रेडिङले पनि जग्गावालाबाट निश्चित जमिन पाउने उनको भनाइ छ । ‘१० वर्षभन्दा बढी एकै ठाँउमा एकै स्वामित्वको कम्पनी हालसम्म रहेको हुनाले मोहियानी हक अन्तर्गत ट्रेडिङको जग्गा कोलकोता रहेको स्थानमा कम्पनीले जमिन पाउने भएको हो,’ उनले भने ‘जसमा सामान्य (१२/१२ को) आठदेखि १० कोठा हुने गरिको जमिन पाउने देखिएको छ ।’ जमिनको मूल्य करौडौं रुपैयाँ पर्छ । सामान्यतया त्यहाँ जग्गा खरिद गर्नै नसकिने उनको बुझाइ छ ।
उनका अनुसार पछिल्लो समय त्यहाँ ट्रेडिङ रहेको पुरानो घरलाई भत्काएर जग्गाधनीले सिटी सेन्टर बनाउने योजना अघि सारेको छ । ‘यदि सिटी सेन्टर बनाए पनि ट्रेडिङले मोहियानी हक अनुसारको १००० स्क्वायर बराबरको जमिन पाउने भएको छ,’ उनले थपे ‘जसमा उल्लेखित करिब १० कोठा निस्कनेछ ।’ ट्रेडिङ खारेज भएपछि सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउछ आउदैन त्यो भन्न नसकिने उनको भनाइ छ । सम्झौता अनुसार स्वामित्व (मोही) परिवर्तन भएको खण्डमा मोहियानी हक नपाउने कानुन रहेको उनले बताए ।
त्यस्तै आपूर्ति मन्त्रालयका प्रवत्ता मुकुन्दप्रसाद पौड्यालले अहिले कलकत्तामा एक तलाको फ्लाट भएको ट्रेडिङको विल्डीङ रहेको बताए । ‘कोलकोता स्थित नेपालको महावाणिज्य दुतावसा नजिकै छ,’ उनले भने ‘अब ट्रेडिङ नै खारेजी हुने भएपछि उक्त जग्गा सम्बन्धमा अन्योले देखिएको छ ।’ मन्त्रालयका अनुसार उक्त जग्गा कोलकोताको केन्द्र भएको तथा नजिकै भारतीय सरकारी अड्डाहरु, समुद्रीक बन्दरगाहा लगायत रहेको कारणले पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण छ ।
सरकारले व्यापार गर्नका लागि वि.सं. २०१८ सालमा नेसनलको स्थापना गरेको हो । कम्पनी स्थापना गर्न चीनको सहयोग थियो । ट्रेडिङले चामल, चिनी, मल, कृषि उपकरण, विद्युतिय यन्त्र, सिमेन्ट, छड, मदिरा र ड्युटी फ्रिका वस्तुको खरिद बिक्री गर्दै आएको थियो । सोही क्रममा कम्पनीले पाँच दशकअघि भारत र नेपालको व्यापारलाई सहज बनाउन भारत स्थित कोलकोताको हारबोर्ड रोडमा आफ्नो शाखा स्थापना गरेको थियो ।