अदुवा निकासीमा भारतले राख्यो १० लाखको शर्त

<p>काठमाडौं । अदुवा निकासीका लागि भारत सरकारले भारु १० लाखको शर्तअघि सारेको छ । उक्त नयाँ शर्तले अदुवा निकासीमा झन अन्योल छाएको अदुवा व्यवसायीहरुले बताएका छन् । हिजो (बिहीबार) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएसँगै अदुवा निकासीको अबरोध हट्ने खबरले व्यवसायीहरुलाई उत्साहित बनाएको थियो । तर १० लाखको नयाँ शर्त तेर्सिदा उनीहरु चिन्तित भएका छन् [&hellip;]</p>

काठमाडौं । अदुवा निकासीका लागि भारत सरकारले भारु १० लाखको शर्तअघि सारेको छ । उक्त नयाँ शर्तले अदुवा निकासीमा झन अन्योल छाएको अदुवा व्यवसायीहरुले बताएका छन् । हिजो (बिहीबार) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएसँगै अदुवा निकासीको अबरोध हट्ने खबरले व्यवसायीहरुलाई उत्साहित बनाएको थियो । तर १० लाखको नयाँ शर्त तेर्सिदा उनीहरु चिन्तित भएका छन् ।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका कार्यबाहक अध्यक्ष तोम राजबंशीले भारतीय सरकारले शुक्रबारदेखि भारु १० हजारको नयाँ शर्त ल्याएको बताए । ‘नयाँ शर्त अनुसार नेपालको अदुवा खरिद गर्ने भारतीय खरिदकर्ताहरुले नेपालबाट अदुवा खरिद गर्न १० लाख भारु जम्मा गर्नु पर्ने भारतीय भन्सारले बताएको छ,’ उनले भने ‘जसकारण अहिलेसम्म भारतमा अदुवा जान सकेको छैन ।’ उनका अनुसार अहिले भारतमा नेपाली र भारतीय अदुवा व्यवसायीहरुबीच सोही बिषयमा छलफल भइरहेको छ ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर १ का अध्यक्ष तथा अदुवा व्यवसायी नरेन्द्र खड्काले गएको दुई हप्तादेखि अदुवामा भारतले अबरोध गरेको बताए । ‘बाहिर आएको समचार अनुसार शुक्रबारदेखि अदुवा निर्यात हुने आश गरेका थियौं तर, निराश बनायो,’ उनले भने । उनका अनुसार पछिल्लो समय नेपालबाट भारतमा अदुवा आयात गर्न भातरको बाणिज्य मन्त्रालयसँग त्यहाँका आयाकर्ताले कोटा लिन पर्छ । कोटा नलिएसम्म अदुवा आयात गर्न पाइन्दैन ।

‘प्रक्रिया अघि बढिसकेको छ । टुङ्गो लाग्न २/३ हप्ता लाग्ने देखिन्छ,’ उनले भने । संघका अनुसार अहिले १ सय ५० ट्रक अदुवा निर्यात हुन नसकेर अलपत्र अवस्थामा रहेको छ । जसमध्ये २५ देखि ३० ट्रक बिग्रिसकेको छ । मुलुकभर अहिले करिब ६ हजार ट्रक अदुवा रहेको छ ।

नेपालबाट अदुवा प्रमुख निकासी हुने वस्तुमा पर्दछ । कृषि उत्पादनको रुपमा रहेको अदुवा नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) मा समेत समाबेस भइसकेको छ ।

Share News