काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) काे सेयर मूल्य निरन्तर ओरालो लागेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेर आइतबार प्रतिकित्ता ५८० मा झरेको छ ।

एफपीओ निष्कासनपछि बीपीसीले लगानीकर्ताको विश्वास गुमाउँदै गएको छ । निरन्तर घटेपछि सेयर मूल्य एफपीओकाे मूल्यभन्दा ७९ रुपैयाँ मात्र बढी भएको छ । पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो ।
दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । २ महिनाका बीचमा बीपीसीका लगानीकर्ताले १६६ रुपैयाँ गुमाएका छन् ।
बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।
बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गते(गत शुक्रबार)सम्म तोकिएको थियाे । साे अवधिसम्म कम्पनीकाे एफपीओका लागि जम्मा ९२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियाे । साे एफपीओमा अावेदन दिने मिति छिटोमा आइतबार सकिदै छ । यसकाे अन्तिम मिति फागुन १५ गतेसम्म तोकिएको छ ।
एफपीओमा न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ । एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।