काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको नाफा बढेको छ ।गत पुससम्म कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा सिनर्जीले २ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको ६ महिनामा कम्पनीले बिजुली बिक्री गरेर १३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवमा नाफा गरेपनि कम्पनीको संचित नोक्सान ११ करोड ४६ लाख रुपैयाँ छ । चालु आवको पहिलो त्रैमाशसम्म सिनर्जीको संचित नोक्सान ११ करोड ८१ लख रुपैयाँ थियो । कम्पनीको संचित नोक्सान बढी भएको र कर्जा तिर्न धेरै बाँकी रहेकाले लगानीकर्ताले अझै केही वर्ष प्रतिफल पाउने संभावना कम छ ।
समीक्षा अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ ब्याजखर्च भएको छ । कम्पनीले १० मेगावाटको सिप्रिङखोला आयोजना बनाउन लिएको ऋण तिर्न ७६ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीको सेयर पुँजी ७० करोड रुपैयाँ छ ।
निर्माणकालदेखि कम्पनीले समस्या भोग्दै आएकाले कर्जा तिर्न सकेको छैन् । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६९ पैसाँ छ । प्रतिसेयर नेटवर्थ घटेर ८३ रुपैयाँ ६२ पैसामा झरेको छ । कम्पनीको सेयर मूल्य १६४ रुपैयाँ मात्र छ ।