काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) आधा मात्रै बिक्री भएको छ । पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको २२ लाख ९५ हजार ४०९ कित्ता एफपीओ खरिदका लागि मात्रै आवेदन परेको हो ।

अझै ९० करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । कम्पनीले छिटोमा शुक्रबार नै निष्काशन बन्द हुने बताएको थियो । तर सो अवधीमा न्युन मात्रामा आवेदन नपरेपछि आइतबारसम्म थपिएको थियो । आइतबारसम्ममा पनि कम्पनीको एफपीओ करिब आधा मात्रै खरिद भएपछि कम्पनी प्रति लगानी कर्ताको आकर्षण घटेको प्रष्टै भएको हो ।
बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।
१० कित्ता मात्र पाउने अनुमानका आधारमा लगानीकर्ताले कम भर्दा एफपीओ बिक्री कम देखिएको बीपीसी वित्त विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए ।
“७० हजार भन्दा बढी लगानीकर्ताले एफपीओका लागि आवेदन दिएका छन्” उनले भने “सबैल कम पर्छ भनेर थोरै माग गरेका कारण निर्धारित समयमा एफपीओ कम गएको हो ।” १० कित्ता मात्र पाउने धितोपत्र बोर्डको नीतिले गर्दा खरिदका लागि कम रकमको आवेदन हाल्दा यस्तो भएको उनको तर्क छ ।
एफपीओ निष्कासन छिटोमा शुक्रबारसम्म बन्द हुने भने पनि आइतबार एक दिन थप भएको लगानीकर्ताले जानकारी नपाएको उनको भनाई छ । आइतबार १८ करोड रुपैयाँ बराबरको एफपीओ मात्र खरिदका लागि आवेदन परेको श्रेष्ठले जानकारी दिए । समय भएकाले यो साताभित्र एफपीओ बिक्री हुने उनले विश्वास व्यक्त गरे ।
एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५८ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको हाे । आइतबार प्रतिकित्ता ५८० मा झरेको छ । एकै दिन बीपीसीका लगानीकर्ताले २२ रुपैयाँ गुमाएका छन् ।
पछिल्लो समयमा बीपीसीको विषयमा विभिन्न टिकाटीप्पणी आएपछि बजारमा मूल्य घटेको हो । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश घट्दै गएको छ । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।
बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।