काठमाडौं। नेपाल टेलिकमले मोवाइल सेवा प्रयोग गरेवापत बढी रकम भुक्तानी गर्नेलाई सम्मान गरेको छ ।१४ औं वार्षिकोत्सवमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा एफ १ सफ्ट इन्टरनेसनल प्रालि, सूर्य नेपाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान् गरेको छ ।
एफ १ सफ्टले सबैभन्दा बढी रिचार्ज कार्डको बिक्री गरेको, सूर्य नेपाल प्रालिलाई संस्थागततर्फ विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक टेलिफोन विल भुक्तानी गरेको र घिसिङलाई जीएसएम पोस्पेडमा व्यक्तिगततर्फबाट सर्वाधिक बढी रकम भुत्तानी गरेको भन्दै टेलिकमले सम्मान गरेको हो ।
एफ वानले ३ अर्ब २५ करोड रुपैयाँको रिचार्ज बिक्री गरेको, सूय नेपालले ९ लाख ४६ हजार र कुलमानले १ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको टेलिकमले जनाएको छ ।
टेलिकमकाअनुसार एकीकृत सेवातर्फ ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर, गोल्डमाइन बिजिनेस ग्रुप, कन्टीनेन्टल मार्केटीङ लगायतका एक दर्जन कम्पनीहरुलाई सम्मान गरिएको थियो । ती कम्पनीहरुले ५० करोडदेखि २ अर्ब १५ करोड रुपैयाँसम्मको रिचार्ज सेवा तथा कार्ड बिक्री गरेका छन् ।
त्यस्तै संस्थागततर्फ टेलिकमको सेवा प्रयोग गरी सर्वाधिक विल भुक्तानी गर्ने नव ज्योति इम्पेक्स (सीडीएमए), सिनो हाइड्रो कर्पोरेसन (वाईम्याक्स), सर्बोच्च अदालत (लिजलाईन), त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई (पिएसटीएन ल्याण्डलाइन) सम्मान् गरिएको छ । टेलिकमको अनुसार ती संस्थाहरुले क्रमशः १८ हजार ६ सय, ८८ हजार, १ करोड ६८ लाख र ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
व्यक्तिगततर्फ टेलिकमको सेवा प्रयोग गरी सर्वाधिक विल भुक्तानी गर्ने पुष्प दुलाल (जीएसएम प्रिपेड), मोरङका दिलबहादुर लावती (सीडीएमए पोस्पेड), महेन्द्र नगरका बिदुर परियार (सीडीएमए प्रिपेड), कञ्चनपुरका रामप्रकाश राना (पिएसटीएन ल्याण्डलाइन) रहेका छन् । उनीहरुले क्रमशः ६४ हजार, ३७ हजार, २ लाख २१ हजार, १ लाख २६ हजार रुपैयाँ विल भुक्तानी गरेको टेलिकमले जनाएको छ ।