धितोपत्र बोर्डले दियो २७ अर्ब ७६ करोडको सेयर निष्कासन अनुमति

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक सेयर निष्कासन ३०.४५ प्रतिशत बढेको छ ।  चालु आवको पुससम्म नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) थप निष्कासन (एफपीओ), हकप्रद सेयर र सामुहिक लगानी कोष (म्युचअल फण्ड) गरी ४६ संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँको निष्कासन गर्न अनुमति दिएको हो । यसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सार्वजनिक सेयर निष्कासन ३०.४५ प्रतिशत बढेको छ ।  चालु आवको पुससम्म नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) थप निष्कासन (एफपीओ), हकप्रद सेयर र सामुहिक लगानी कोष (म्युचअल फण्ड) गरी ४६ संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँको निष्कासन गर्न अनुमति दिएको हो ।

यसमध्ये ९ वटा कम्पनीलाई २ अर्ब ८६ करोड रुपैयाँ बराबरको आईपीओ, ३ वटालाई २ अर्ब ६७ करोड रकम बराबरको एफपीओ र ४ वटा योजनाको ४ अर्ब ७० करोड रकम बरावरको म्युचअल फण्डको इकाई र ३० कम्पनीको १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।

यस अवधिमा बोर्डले संगठित संस्थाकोे नाफाबाट भएको जगेडा कोषलाई पूँजीकरण गरी अतिरिक्त सेयरको रुपमा विद्यमान शेयरधनीलाई प्रदान गरिने ३० वटा संगठित संस्थाको ७ अर्ब ८२ करोड रुपैयाँ बरावरको बोनस सेयर दर्ता गरेको छ ।

गत आवको सोही अवधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरिएको थियो ।बोर्डले चालु आव सुरु भएयता ६ महिनाको अवधिको निष्कासन अनुमति विवरण सार्वजनिक गरी जानकारी गराएको हो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ तथा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ले तोकेका सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको मितिले ७ कार्य दिनभित्र निवेदन साथ संलग्न विवरण तथा कागजातमा आवश्यकताअनुसार सुझाव दिने र सुझावअनुसार आवश्यक सुधार गरी विवरण तथा कागजात प्राप्त भएको ५ कार्य दिनभित्र निष्कासन अनुमति प्रदान गर्दै आएको छ ।

फास्ट ट्रयाकको रुपमा गरिएकोले यस अवधिमा १५ वटा संस्थाले आईपीओ निष्कासनका लागि आवेदन दिएकोमा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनको क्रममा रहेको र १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएकोमा सम्बन्धित संस्थाबाट प्राप्त हुन बाँकी रहेको बोर्डले जनाएको छ ।

१७ कम्पनीले हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएकोमा ३ वटा संस्थालाई अनुमति दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । यस्तै ३ वटा संस्थाको प्रत्युत्तर हालै प्राप्त भई सोको जाँचबुझ भईरहेको छ । ११ वटा कम्पनीको “हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणमा आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको बोर्डले जनाएको छ ।

आवेदन दिएका १५ संस्थाको आईपीओ निष्कासनको ३ अर्ब ९० करोड र १७ संस्थाको हकप्रद शेयर निष्कसनको रकम ११ अर्ब ७६ करोड रहेको बोर्डले जानकारी दिएको छ ।

 

Share News