नेपाल चेम्वर अफ कमर्स र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमबीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चेम्बरकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले पत्रमा हस्ताक्षर गरेको प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले जनाए ।
उनका अनुसार हस्ताक्षरपछि चेम्बरका अध्यक्ष श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरेका थिए । उद्योग लगायत पर्यटन क्षेत्रमा लगानी गर्न भारतीय पक्षसँंग उनको विशेष अनुरोध थियो । साथै उनले नेपाल र भारतबीचको व्यापार व्यवसाय प्रबद्र्धनका लागि काठमाडौंदेखि भारतको कलकत्तासम्मको हवाई उडानको संख्या बृद्धि आवश्यक भएकोमा जोड दिएका थिए ।
समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी भएको बताइएको छ ।
चेम्वरले हालसम्म ५६ मुलुकहरुसँंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको बताइएको छ ।